एमालेको प्रचार विभाग र प्रेस चौतारी हेरेको हेर्यै
सरकारको नेतृत्व र विभागीय मन्त्री आफूसँग हुँदा पनि एमालेले महत्वपूर्ण नियुक्तिमा कार्यकर्तालाई न्याय गर्न नसकेको भन्दै प्रचार विभाग र प्रेस चौतारीको भूमिकामाथि प्रश्न उठाउन थालिएको छ । यसैकारण सूचना आयोग, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, गोरखापत्र र नेपाल टेलिभिजनलगायतका सञ्चार सम्बद्ध संस्थाहरुको महत्वपूर्ण नियुक्तिमा नेपाली काँग्रेस हावी हुनेक्रम जारी छ ।
सरकारले हालैमात्र सूचना आयोगको रिक्त प्रमुख आयुक्तमा डा. सुरेश आचार्यसहित आयुक्तहरुमा दुर्गा भण्डारी र गगन विष्टलाई नियुक्त गरेको छ । आचार्य पत्रकार महासंघको पूर्व सभापति हुन् भने गगन प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष हुन् । भण्डारी ओलीको गृह जिल्ला झापा माइती भएकी कास्की पोखराकी हुन् ।
प्रमुख आयुक्तका लागि नेपाल टेलिभिजनका पूर्व कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्ट, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीलगायतले पनि निवेदन दिएका थिए । त्यसो त प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्यालले पनि प्रदीप ज्ञवालीको पिए हुनुबाहेक अर्थोक जिम्मेवारी पाएका छैनन् ।
प्रेस काउन्सिलको सदस्यबाट विदा लिएको दुई साता नबित्दै भण्डारीलाई आयोगमा नियुक्ति दिइएको हो । त्यसो त प्रधानमन्त्री ओलीले रेडियो नेपालको डाइरेक्टरमा नियुक्त गरेका अमरध्वज लामा पनि माओवादी पृष्ठभूमिका पत्रकार हुन् । लामो समयदेखि प्रेस चौतारीमा खटेका दिपक ज्ञवालीहरुलाई पाखा लगाएर लामालाई टिपेपछि पनि यो प्रश्न चौतारी र पार्टीभित्र झिनो रुपमा उठेको थियो ।
नेपाल टेलिभिजन र गोरखापत्रमा भने नेपाली काँग्रेस समर्थकहरुको नै पकड देखिन्छ । राससमा थपना महाप्रवन्धक सिद्धराज राई बाहेक कार्यकारी अध्यक्षका रुपमा काँग्रेसनिकट धर्मेन्द्र झा छन् । त्यसो त निमा काफ्लेलाई प्रेस काउन्सिल र सूचना आयोगमा लग्ने भन्दै फाराम भर्न लगाएर हिस्स पारिएको बताइन्छ ।
- सविन प्रियासन
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू