निलम्बितलाई गुपचुप ‘सुनपानी’

निलम्बितलाई गुपचुप ‘सुनपानी’

महान्यायाधिवक्ता रमेश बडाल नेतृत्वको कानुन व्यवसायी परिषद् (बार काउन्सिल)ले न्यायाधीशसँग ठाडै घुस डिल गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई चोख्याएको छ । 

कात्तिक २५ गते बसेको बैठकले पोखरेललाई सामान्य ‘नसिहत’ दिएर उजुरी राफसाफ गरेको हो । अब उप्रान्त पोखरेल वकिलको झोला बोकेर मुद्दामा बहसका लागि सहजै अदालत छिर्नेछन् । एमाले पूर्वसांसद रहेका व्यवसायी इच्छाराज तामाङको मुद्दामा ‘सेटिङ’ गर्ने क्रममा पोखरेलले तत्कालीन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग टेलिफोनमै घुस रकम डिल गरेको अडियो छरपष्ट भएको थियो । पोखरेलले सहकारी ठगीलगायत मुद्दामा थुनामा रहेका तामाङलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गरेका थिए । 

सर्वसाधारणको आठ अर्ब ठगेको आरोपमा मुद्दा चलाइएका तामाङलाई २०७८ साल पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । घुसको अडिओ सार्वजनिक भएपछि पोखरेललाई अड्डा अदालतमा बहस पैरवी निषेध गर्ने गरी बार काउन्सिलले निलम्बनमा राखेको थियो । घुस लेनदेन प्रकरण बाहिरिँदा पोखरेल एमालेबाट बारको कोषाध्यक्ष थिए । 

यता, न्यायपरिषद्ले घुसबापतको पैसा बुझिनसकेको भन्ने आधारमा न्यायाधीशलाई पनि तत्काल सचेत गर्ने र भविष्यमा निगरानीमा राख्ने गरी उन्मुक्ति दिलाएको थियो । यता, बार काउन्सिलले नसिहतको ठाडो निर्णय गरेपछि पोखरेलको प्रमाणपत्र जोगिएको छ । पोखरेल चण्डेश्वर श्रेष्ठ नेतृत्वको नेपाल बार एशोसिएसनमा २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष थिए । एमालेनिकट उनी पाटन बारमा २०७०–७३ सम्म अध्यक्ष थिए । एमालेको कानुन विभाग सदस्य भइसकेका व्यक्ति हुन् । उनको घर एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत झापाको गौरादहमा पर्छ । 

बिगो र जरिवाना गरी तामाङ परिवारबाट ५ अर्ब ५२ करोड रूपैयाँ असुलउपर हुनुपर्ने ठहर अदालतको छ । यिनै तामाङलाई दश करोडमा छुटाएपछि दुई करोड लिन सल्लाह अडियोमा सुनिन्छ । 

जतिबेला बारले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको थियो पोखरेल सोको विपक्षमा बहश गर्थे भने तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध नेपाल बारले प्रेस विज्ञप्ति निकाल्दा त्यसलाई काउण्टर दिने गरी अर्को विज्ञप्ति निकाल्थे । सर्वोच्चकै न्यायाधीशहरूबाट चोलेन्द्रलाई हटाउन बेञ्च बहिष्कार भइरहेकै बेला कानुन व्यवसायीलाई पोखरेलले उल्टै ‘भ्रष्टाचारी’को संज्ञा दिने गर्दथे ।

(साभार:जनआस्था-साप्ताहिकबाट)

 

टिप्पणीहरू