हैसियत हेरौं साठी ननाघेका युवाहरु !
यसरी नै अघि बढिरहने हो पहिलो पुस्ताको ज्येष्ठ नेतृत्व ? प्रचण्ड, ओली, माधव, झलनाथ, बाबुराम कमरेडहरूले पार्टीको नेतृत्व गरेको लगभग ४० वर्ष हुन लागेको छ । सीमित व्यक्ति आलोपालो गरेर यसरी ४०–४० वर्षसम्म नेतृत्वमा बसिरहँदा कस्तो नयाँ विचार आयो होला, कसरी पार्टी चलेको होला, कसरी नयाँ नेतृत्व स्थापित हुन असम्भव भयो होला ? सहजै बुझ्न सकिन्छ ।
यसरी नै पहिलो पुस्ताको पछि लागिरहने हो हाम्रा साठी ननाघेका (युवा ?) नेताहरू पनि ? तपाईंहरूमा देशको नेतृत्व गर्ने ल्याकत नभएकै हो ? पार्टी चलाउन अक्षम नै हो ? र, यसरी नै अन्धभक्त बनेर हिँडिरहने हो ? ‘बा’ भन्दै ओली कमरेडको पछि झुम्मिएका छन्, दाजु भन्दै देउवाको पछि दगुरेका छन्, अर्कै फुर्को झुण्ड्याएर प्रचण्डको पछि लागेका छन् । यो त प्यारासाइट राजनीति भयो ।
यस्तो परावलम्बी राजनीतिले आफ्नै पोटेन्सियललाई नष्ट गर्दिन्छ भन्ने कुरा जति छिटो बुझ्न सक्यो उति राम्रो हुन्छ । राजनीतिमा लाग्नुपर्छ भनेर विभिन्न संगठनमा आवद्ध युवा कमरेडहरूलाई सचेत गराउनुपर्ने कुरा के हो भने तपाईंहरू अहिलेको राजनीतिमा दोस्रो पुस्ता भनेर चिनिने समूहलाई हेर्नुहोस् र आफ्नो हैसियतलाई बुझ्ने कोसिस गर्नुहोस् । दलभित्र उहाँहरूको हैसियत भनेको ताली ठोक्ने मात्रै हो । निर्णय प्रक्रियामा उहाँहरूको कुनै ‘से’ छैन, जोडले टेबुल ठोक्नेबाहेक ।
कर्मचारी र पुलिस प्रशासनबाट आफ्नो काम गर्न लगाउने, गाउँघरमा पदको रवाफ देखाउनेबाहेक अरु कुनै हैसियत नै छैन । पार्टीभित्र उहाँहरूको हैसियत स्काई क्रो को जस्तै हो भन्दा हुन्छ । बाहिरबाट हेर्नेको लागि त के–के नै हो भन्ने देखिन्छ । देख्नेहरूले सचिव देख्छन्, महासचिव देख्छन्, उपाध्यक्ष देख्छन्, महामन्त्री देख्छन् । यस्तो देख्दा ओहो भन्ने हुने नै भयो तर पार्टीभित्र पहिलो पुस्ताका नेताहरूको अगाडि एउटा कारिन्दाको जस्तै हैसियत हो, लाए अह्राएको मान्ने, गर्ने ।
के तपाईंहरू पनि आफ्नो हैसियत यस्तै बनाउन चाहनुहुन्छ ? यदि होइन भने मुखर भएर निस्किनुपर्छ, सहिलाई सही र गलतलाई गलत भन्न सक्ने क्षमताको विकास गर्नुपर्छ । अन्यथा तपाईंहरूको हैसियत पनि आजको दिनको दोस्रो पुस्ताकै सरह हुनेछ । अझ महत्वपूर्ण कुरा युवाहरूले बुझ्नैपर्ने के हो भने तपाईंहरूलाई मन्त्री बनाउँछन्, राजनीतिक नियुक्ति पनि दिन्छन् तर मौका हेरी भ्रष्टाचार गर्न खटाउँछन्, घुस बुझ्न पनि पठाउँछन् र अनेकखाले अनैतिक सेटिङ गर्न खटाउँछन् । प्रिन्टिङ मेसिन किन्न को प्रयोग भयो थाहा छ होला नि ? गिरिबन्धुमा को प्रयोग भयो थाहा छ होला नि ? यति र ओम्नीमा को प्रयोग भयो थाहा छ कि छैन ? वाइड बडीमा, नेपाल टेलिकममा को को प्रयोग भए, बिर्सेको ? सिद्धान्त र बिचारलाई केन्द्रमा राखेर अघि बढाउनुहोस्, आसचपु (आर्थिक सहयोग, चन्दा, पुरस्कार) मा निर्भर हुन छोड्नुहोस् अन्यथा तपाईंहरूको राजनीति पनि दागी बनेर सकिनेछ ।
युवालाई कसरी भेडा बनाइएको छ भनेर बुझ्नुपर्छ । देशमा वामपन्थी एकता जरुरी छ, यसमा दुईमत छैन । तर वामपन्थी एकता पहिलो पुस्ताका नेताहरूको सुविधालाई, उहाँहरूको व्यवस्थापनलाई हेरेर हुने हो कि वस्तुगत आवश्यकतालाई हेरेर ? एमाले, माओवादी बनेपछिलाई आधार मानेर कुरा गरौं । एमाले फुटेर माले जन्मियो । माले फुटेर सिपीको माले जन्मियो र बचेका मालेहरु पनि फेरि एमालेमा गई एमाले बने । एमाले र माके मिलेर फेरि नेकपा(नेकपा) बन्यो । यो पनि फुटेर एउटा भंगालोबाट एमाले बन्यो, अर्को भंगालोबाट माके बन्यो, अर्को भंगालोबाट नेकपा (एस) बन्यो ।
पुरानो माओवादी फुटेर के के बनेको छ त्यसको त कुनै गिन्ती नै छैन । कार्यकर्ताहरूको कुनै प्रकारको भूमिका छैन यस्तो हुनुमा । सैद्धान्तिक तथा वैचारिक कारण पनि थिएन ।सबै कुरा पहिलो पुस्ताका नेताहरूको इच्छामुताविक बनेको हो । दोस्रो पुस्ता र युवा वर्ग तिनकै पछि लागेर कहिले एमाले, कहिले माले, कहिले नेकपा, कहिले माओवादी त कहिले एस बनी जग हँसाइरहेका छन् । यस्ता अनेक नाम गरेका तथाकथित वामपन्थी पार्टी बन्नु र हामी त्यसको सदस्य बन्नुमा सिद्धान्त र विचारको कुनै साइनो सम्बन्ध नै छैन ।
त्यसकारण युवा वर्गले समयको आवश्यकतालाई बुझेर तदनुसार आफूलाई बदल्नु जरुरी छ । जेबी टुहुरेको गीत ‘कति बस्छौ दासी बनेर’ भनेजस्तो कति बस्ने समाजलाई काम नलाग्ने, समाजको निम्ति उपयोगी हुन नसक्ने फगत दिन काट्ने कार्यकर्ता बनेर ! अब जाग्नुपर्छ, पार्टीमा हस्तक्षेप गर्न सक्ने बन्नुपर्छ । आसचपु खाएर दिन काट्दै समय गुजारा गर्ने लाइन छोड्नुपर्छ ।
हामीले जानेको वामपन्थ यस्तो होइन । यस्तो वामपन्थ अन्यत्र पनि देखिएको छैन । आजको पहिलो र दोस्रो पुस्ताको नेतृत्वले वामपन्थलाई पूरै दागी बनाएका छन् । विद्यार्थीको समूहलाई क्याम्पस प्रशासनसँग पैसा असुल्ने गिरोहजस्तो बनाएका छन्, ठेक्कापट्टामा छिराइदिएका छन्, सरुवा बढुवाका फाइल बोक्ने बनाएका छन् । क्याम्पसतिर छिरेर हेर्नुस् सबै थाहा भइहाल्छ । पढ्न छाडेका युवालाई विभिन्न उपभोक्ता समूहभित्र छिराएका छन्, ठेकेदारको पछि लगाएका छन्, गिट्टी बालुवामा कमिशन खाने काममा लगाएका छन् । यसरी युवा तथा विद्यार्थी वर्गलाई लगभग बौद्धिक हिसाबले बैंकरप्ट नै बनाइसकिएको छ । यो वास्तविकतालाई बुझ्न सकेको देखिँदैन युवा र विद्यार्थीले ।
मीनबहादुर जग्गा दान काण्डमा आँ मात्रै गर्ने दुस्साहस गरेका युवालाई भित्तैमा पुर्याउने काम गरे । यो डण्डा सत्य बोल्न साहस गर्नेजति सबैलाई चेतावनी हो खबरदार मुख खोलेमा भनेर । तर, के अब स्पष्टीकरण सोध्नेछन् वा कार्वाहीमा परिएला कि भनेर सधैं भक्त बनी मुख बन्द गरेर बसिरहने हो त ? होइन, बोल्नुपर्छ, बोल्न शुरु गर्नुपर्छ । हिन्दीमा भनाइ नै छ ‘आगे बढो कारवाँ बन्ता चला जाएगा’ अर्थात् राम्रो कामको शुरुआत गरेपछि समर्थन जुट्दै जान्छ, मान्छेहरू मिसिँदै जान्छन् र यो ठूलो हुँदै जान्छ ।
अहिले सबैको आर्थिक अवस्था दयनीय नै छ, यसमा दुईमत छैन । हो, महँगी उस्तै छ, बेरोजगारी उस्तै छ, सुशासन शून्य छ, उत्पादन कमजोर छ अर्थात् जनताको थाल दालभातले भरि छैन आधा छ । केही दिनपहिले एकजना जनमुक्ति सेनाकी सदस्यले रुँदै भनेको भिडियो हेरेको थिएँ । चामल नभएर ढुंगा खानुपर्ने अवस्था छ भन्दै गरिरहेको हृदयविदारक थियोे । जनताको अवस्था यस्तो कमजोर छ तर नेताको सम्पत्तिमा भने अस्वाभाविक तरिकाले वृद्धि भएको देखिरहेका छौं ।
उनीहरूको सम्पत्तिमा बढोत्तरी हुने आधार के हो ? जुन पार्टीको आफ्नो निजी कार्यालय छैन त्यही पार्टीका नेता लगभग सबैको काठमाडौं र अन्य शहरमा पनि ठुल्ठूला घर कसरी बन्न सम्भव भयो ? यसबाट प्रष्ट भएको कुरा के हो भने सबै नै व्यक्तिगत र संस्थागत हिसाबबाट पनि भ्रष्टाचारमा लिप्त छन् ।
केही दिनपहिले पत्रकारले टेलिभिजन अन्तर्वार्तामा एमालेका एक जना सचिवलाई घर किन्न पैसा कहाँबाट ल्याउनुभयो भनेर सोधेका थिए । त्यो प्रश्नमा उनले लोनबाट भन्ने जवाफ दिए । कुनै जागिर नभएको फुको नेताले महिनामा लाखभन्दा बढी किस्ता तिर्ने गरी लोन लिएर घर किन्ने आँट कसरी गर्न सक्छ ? यस्तो अवस्थामा अरुले पनि यिनै सचिवहरू जस्ताको सिको गरेको कुरालाई नकार्न मिल्दैन ।
तर के यस्तो तरिका ठीक हो त ? वामपन्थी चरित्र यस्तै हुन्छ ? अबको राजनीति के यस्तै ठेक्कापट्टा अर्थात् डन र धनवादले चलाउने हो अथवा चल्ने हो त ? अहिलेको युवा विद्यार्थी नेताले त एआईमा पोख्त जेनेरेशन जी पुस्ताको नेतृत्व गर्ने हो भविष्यमा । ओली कमरेडको पानीजहाज र चुच्चे रेलमार्का राजनीतिले देश चल्दै चल्दैन भनेर कहिले बुझ्ने ? यस्तो राजनीति नचल्ने कुरा टुँडिखेलको परिदृश्यले बताइसकेको छ होइन र ? यद्यपि, टुँडिखेल कुनै राजनीतिक मञ्च नभएको हुँदा त्यहाँ त्यस्तो नारा लाग्नु हुँदैनथ्यो ।
गाउँघरतिर एउटा भनाइ चल्तीमा छ, ‘भीरबाट लड्ने गाईलाई काँध थाप्न कसैले सक्दैन ।’ देशको बारेमा, वामपन्थी आन्दोलनको बारेमा, युवा वर्गको भविष्यको बारेमा चिन्ता गर्ने हामी जस्ताले दिने भनेको केवल सुझाव र सल्लाह हो, गल्ती कमजोरी बताइदिने हो ।
बाँकी काम स्वयं युवाको हो । राजनीतिक पहलकदमी लिएर जो अघि बढ्न सक्छ भविष्य उसको राम्रो छ । यहाँ ठूलो कुरा गर्नै पर्दैन । नेपालीहरू सानो कुरामै फुर्किन्छन् । आफ्नो चरित्र सुधार्ने र सैद्धान्तिक, वैचारिक राजनीतिलाई आत्मसात् गर्नेबित्तिकै आधा राजनीति आफैँ ठीक भइहाल्छ । बाँकी राजनीति सुधार्न खासै मिहिनेत लाग्दैन । कुरा केवल सही राजनीतिको हो ।
चेतना नै ठूलो कुरा हो । चेतनाबिना केही पनि बुझ्न सकिँदैन । नबुझेपछि केही गर्न पनि परेन । त्यसकारण चेतनाबिनाको अस्थिपञ्जरको कुनै अर्थ छैन ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू