मानव तस्करीका आरोपित एमाले सांसदविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीका आरोपित एमाले सांसदविरुद्ध मुद्दा नचल्ने

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्धा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्धा नचलाउने निर्णय गरेको हो । 

केही व्यक्तिलाई मन्त्रालयको नक्कली परिचय पत्र बनाइदिएर अवैध रुपमा जापान पुर्याउन खोजेको आरोपमा अधिकारी कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए । यद्यपि आरोप अस्वीकार गर्दै आएका उनले गौतम थरका एक व्यक्तिलाई पासपोर्ट बुझाएको र उसैले जापान भ्रमणको चाँजोपाजो मिलाएको दावी गर्दै आएका छन् । 

अधिकारीले नै मानव तस्करीको सूचना उपलब्ध गराएको भन्ने आधारमा टेकेर सरकारी वकिलको कार्यालयले मुद्धा नचलाउने निर्णय गरेको बताइन्छ । यस प्रकरणमा पक्राउ परेका अरु ११ जनाविरुद्ध भने जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले बताए । 

जापानको कार्यक्रममा भाग लिन भन्दै अधिकारीसहित चार जना कात्तिक ११ गते जापान गएका थिए । तर, उनीसहित सँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई त्यहाँको अध्यागमनले डिपोर्ट गरेपछि घटना बाहिर आएको हो ।

अधिकारी नेकपा एमालेको तर्फबाट मोरङ क्षेत्र नं २ (ख) का निर्वाचित सांसद हुन् ।

टिप्पणीहरू