उपचुनावका लागि 'संयुक्त निर्वाचन सञ्चालन केन्द्र’

उपचुनावका लागि 'संयुक्त निर्वाचन सञ्चालन केन्द्र’

आसन्न स्थानीय तह उपचुनावका लागि निर्वाचन आयोगले ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्र’ स्थापना गरेको छ । 

उपनिर्वाचनका सम्बन्धमा आयोगले गरेका निर्णयको कार्यान्वयन, आचारसंहिता पालना, उल्लंघनलगायत विविध समस्याको तत्कालै समाधान गर्न केन्द्र संचालनमा ल्याइएको हो । आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा स्थापना गरिएको उक्त केन्द्रमा प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, उपसचिव दुर्गाप्रसाद चालिसे, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी सदस्य छन् । 

त्यस्तै, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक रेग्मी, सशस्त्र प्रहरी बलका एसएसपी दिग विजय सुवेदी र सदस्य सचिवमा आयोगका उपसचिव डा.थानेश्वर भुसाललाई पनि सदस्य बनाइएको छ । 

आजदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका लागि केन्द्र सञ्चालनमा रहने आयोगले जनाएको छ । आयोगले उपचुनावमा आचारसंहिताको पालनालगायत कुनै पनि विषयमा केही जानकारी वा गुनासो भएमा कल सेन्टर ११०२ वा केन्द्रको फोन नम्बर ०१–५३२६३२६ मा सोझै सम्पर्क गर्न अनुरोध गरेको छ ।

टिप्पणीहरू