सन्तानबाटै बाबुआमामाथि सुरक्षा संकट

सन्तानबाटै बाबुआमामाथि सुरक्षा संकट

काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय बाबुआमा आफ्नै सन्तानबाट असुरक्षित भएका छन् । उता, छोराछोरीसमेत अभिभावकबाट असुरक्षित छन् । बाबु आमालाई छोराहरूले सम्पत्तिका लागि हत्या गर्ने, छोरीहरू बाबुबाट बलात्कृत हुने घटना दैनिकजसो देखिन थालेका छन् । उता, घरमै पेस्तोल राख्नेहरू पनि अदालतबाट धरौटीमा छुट्दैछन् । ५० वर्षअघिका भरुवा बन्दुक बाँदर, बँदेल तर्साउन प्रयोग गरिँदै आए पनि त्यसो गरेबापत वर्षाैँ जेल बस्नुपर्ने अर्को बाध्यता छ । 

नपड्कने, गाउँमा बाँदर धपाउन प्रयोग गरिने तर अनुमति नलिइएका भरुवा बन्दुक घरमा राखेका व्यक्तिहरू पक्राउ पर्दा वर्षाैं जेल बस्नुपर्ने अवस्था रहे पनि अर्धभूमिगत नेकपा माओवादी समूहमा सक्रिय, दुई दुई पटक लागुऔषध कारोवारमा जेल सजायँँ भोगेका, आफ्नै दाजुलाई पेस्तोल पड्काएर ज्यान मार्न खोज्ने पनौती १ र्‍यालेका प्रेम तामाङलाई जिल्ला न्यायाधीश शिवकुमार पोखरेलले अमेरिकन कम्पनीको र चालु हालतको एक थान पेस्तोल र तीन थान गोलीसहित पक्राउ पर्दापर्दै एक लाख धरौटीमा छाड्न आदेश दिएका छन् । पनौती नगरपालिका वडा नम्बर १ स्थायी घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ रानिकोट बस्ने ३६ वर्षीय प्रेम तामाङ र चितवन जिल्ला राप्ती नगरपालिका–२ चौखिडाँडा स्थायी घर भई काठमाडौँ टोखा– ८ ग्रिनल्याण्ड बस्ने ४० वर्षीय समिरसिंह थापा उर्फ हरि भन्ने सञ्जीव तामाङविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । न्यायाधीश पोखरेलको इजलासले तामाङसमेत संलग्न रहेको कसुर अभियोगमा साविती बयान गरेको, प्रहरी प्रतिवेदन, बरामदी/खानतलासी मुचुल्का, घटना विवरण कागज गर्ने मानिसहरूको बयानलगायत तत्काल प्रमाणका आधारमा निर्दाेष भन्न नमिल्ने र पुर्पक्षमा समेत राख्न नपर्ने देखिएकाले धरौटीमा छाड्न आदेश गरेका हुन् । फरार रहेका समिरसिंह उर्फ सञ्जीव नख्खु कारागारमा रहेकाले सोही कारागारबाट झिकाई बयान गर्न आदेश भएको छ । उनीबाट गोली ३ थान र पेस्तोल १ थान जफत गरी अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराइपाउन माग गरिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख न्यायाधिवक्ता कृष्णा भण्डारीले २०८१ कात्तिक २३ गते अभियोगपत्र दर्ता गरेकी थिइन् । अभियोगपत्रमा आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा १ लाख र सोही प्रकृतिको अर्काे मुद्दामा १ लाख ५० हजार धरौटी माग गरिएको उल्लेख छ । उक्त धरौटी नतिरी उनीहरू नख्खु कारागारमा  छन् । २०८१ असोज २८ गते दिउँसो १२ : ३० बजे पनौती– १ स्थित प्रेम तामाङको घरमा अवैध हतियार राखेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी लिएको थियो । पालीमुनी तेस्र्याइराखेको काठमाथि लुकाई छिपाई राखेको अवस्थामा ब्यारेलको भागमा मेड इन युएसए लेखिएको म्याग्जिनभित्र ३ थान गोलीसमेत लोड भएको पेस्तोल फेला परेको थियो । 

प्रहरीले उक्त हतियारसहित तामाङलाई नियन्त्रणमा लिएको थियो । तामाङले यसअघि पनि पटक–पटक आतंक मच्चाउँदै आएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि मतदातालाई त्रसित बनाउँदै हतियार देखाए । उक्त हतियार राख्ने अनुमति कुनै निकायसँग लिइएको छैन । माओवादी ब्युरो इञ्चार्ज समिरसिंह थापा उर्फ हरि भन्ने सञ्जीव तामाङ र निजको बडीगार्ड सन्तोष तामाङबाट उक्त हतियार प्राप्त भएको बयान छ । यसअघि भक्तपुर जिल्ला अदालतमा दायर भएको लागुऔषध मुद्दामा प्रेम तामाङलाई एक वर्ष २ महिना कैद र १० हजार जरिवाना हुने ठहरी २०८० मंसिर ७ मा फैसला भएको थियो । प्रहरी प्रतिवेदनअनुसार लागुऔषध मुद्दामा प्रेम तामाङ २०७६ कात्तिक ६ गते पनि दोषी ठहरिएकै हुन् । सोही मुद्दामा २ वर्ष कैद र १ लाख जरिवाना हुने भक्तपुर जिल्ला अदालतको फैसला छ । पटक–पटक लागुऔषध मुद्दामा सजायँँ तोकिएका प्रेम तामाङलाई प्रहरीले थप सजायँँ माग गरेको थियो । 

प्रेम तामाङले आफू दुई महिनादेखि महेश चौधरी महावीर (महासचिव) को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मा आबद्ध भएको बताएका छन् । प्रेम तामाङले पक्राउ पर्नुअघि आफ्नै दाजुलाई एक राउण्ड गोली पड्काएर तर्साएका थिए । प्रहरीले अनुसन्धानमा उक्त कुरा समावेश नै गरेको छैन । 

उता, मानवता मेटाउँदै चिनजान र परिवारका सदस्यबाट पाशविक र जघन्य हत्याका घटना हुन थालेको छ । अझै केही घटनामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । बाबुलाई खुर्पा र गलले हानेर मारी फरार भएका छोरालाई प्रहरीले १४ दिनपछि नियन्त्रणमा लिएको छ । २०८१ कात्तिक १० गते नमोबुद्ध नगरपालिका– ७ पुजारी टापु बस्ने ७४ वर्षीय बलबहादुर श्रेष्ठलाई जेठा छोरा ४५ वर्षीय रामलाल श्रेष्ठले मारेका थिए । वडाध्यक्ष धर्मसिं लामाका अनुसार बाबुको हत्या गरी फरार भएका रामलाल श्रेष्ठलाई प्रहरी र स्थानीयले उनकै घर नजिक जंगलबाट ढोडको थुप्रोमा लुकेर बसेको अवस्थामा समातेको हो । 

उत्कृष्ट अनुसन्धानकर्ता प्रहरी निरीक्षक कृष्ण गिरी नेतृत्वको टोलीले रामलाललाई सोही स्थानबाट कात्तिक २३ गते साँझ पक्राउ गरेको वडा अध्यक्ष धर्मसिं लामाले बताए । हरेक दिन मादक पदार्थ सेवन गरी बाबु र श्रीमतीलाई समेत दुःख दिँदै आएका रामलाललाई धेरै पटक प्रहरी चौकी लगेर माफी मगाउँदै छाड्दै गरिएको थियो । रामलालको घरमा बाबु र दिदी छन् भने उनकी श्रीमती र तीन बच्चा बनेपामा बस्दै आएका छन् । हरेक दिन श्रीमती र बच्चालाई समेत कुट्ने गरेका रामलालबाट बचाउन बनेपास्थित आफन्तको शरणमा राखिएको हो । माइलो भाइ रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थिए भने माइलो भाइ मकवानपुर बस्छन् । 

कात्तिक १० गते दिउँसो रामलाल मापसे गरेर घर पुगेका थिए । घरमा बोल्न नसक्ने दिदी थिइन् । आफूले श्रीमती कुट्न नपाएको, श्रीमती र बच्चालाई सँगै बस्न नदिएको भन्दै बाबुलाई आक्रमण गरे । शुरुमा फलामको गलले हाने । गलले हान्दा उनी मरेनन् । मारुँ भन्दा पनि तर्साउन आक्रमण गरेको बताएका रामलालले सँगै रहेको खुर्पाले हानेर भागे । दुई पटक गल र खुर्पाले हानेपछि उनी त्यहीँ ढले । र, रामलाल जंगलतिर भागे । बाबु मरे कि बाँचेका छन् भनेर राति फेरि हेर्न आए । मरिसकेको थाहा पाएपछि फेरि जंगलतिर भागे । यता, बाबुको हत्याको खबर गाउँभर फैलियो । बाहिर रहेका दुई भाइ आए । बाबुको पोष्टमार्टमपछि दाहसंस्कार गरे । परम्पराअनुसार काजकिरिया बसे । तर, उनी भने जंगलमै लुकेर बसिरहे । १४ दिनसम्म जंगलमा रहेको कुवाबाट पानी र नजिकै बगैँचाको सुन्तला खाएर बसिरहे । बाबुको हत्यापछि प्रायश्चित गरिरहे । आत्मसर्मपण गर्ने योजना पनि बनाएनन् । बरु भागेर अन्यत्र जाने सोच बनाएको भए पनि स्थानीय, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा पक्राउ परे । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । कात्तिक १६ गते मात्रै रोशी गाउँपालिका–३ मा छोराले आमाको हत्या गरेका थिए । उनी अहिले प्रहरी नियन्त्रणमा छन् । 

अघिल्लो महिना पैसाका लागि हनिट्रयापमा पारेर सम्बन्ध राखेका व्यक्तिको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोक घर भएकी २१ वर्षीया युवतीसहित अन्य संलग्न पक्राउ परे । ६ महिनाअघि महाभारत गाउँपालिका घर भएका दम्पतीको हत्यामा संलग्न सिन्धुपाल्चोककै एक युवा पनि समातिए । 

पाँचखालमा आगो लगाएर मारिएका व्यक्तिको पहिचान हुन सकेको छैन । पलाञ्चोकमा अघिल्लो वर्ष दम्पतीको हत्या गर्ने तेमालको कानपुरमा एक वृद्ध व्यक्ति मार्नेसमेत पत्ता लाग्न सकेको छैन । नमोबुद्ध, रोशी तथा जिल्लाका विभिन्न स्थानमा भएका घटनामा केही पक्राउ परेका छन् । केही फरार छन् । ०८०/८१ मा कर्तव्य ज्यानसम्बन्धी १४ वटा घटना भए । जसमध्ये ८ वटामा संलग्नहरूलाई कैद सजायँँ सुनाइएको छ भने ६ वटामा संलग्नहरू पुर्पक्षका लागि कारागारमा छन् । ज्यान मार्ने उद्योगमा १७ वटा घटना भए । जसमध्ये ९ वटा घटनाको मुद्दा टुंगिएको छ भने ८ वटा बाँकी छ । आत्महत्या दुरुत्साहनमा ४ वटा घटना दर्ता भएकोमा एउटाको फैसला भएको छ । ज्यानसम्बन्धी ३५ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको जिल्ला अदालतकी अधिकृत एवं सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् । चालु वर्षको चार महिनाको यो अवधिमा ४ जनाको हत्या गरिएको छ । झुण्डी र विष सेवनबाट भने २९ जनाको मृत्यु भएको छ । सबै घटना पैसा र सम्पत्तिका लागि भएको तथ्य र अनुसन्धानले देखाएको छ । 

– मोतीराम तिमल्सिना

 

(साभार:जनआस्था साप्ताहिकबाट)


 

टिप्पणीहरू