कर्णाली डेभलपमेन्ट बैंकको कारोबारमा रोक

कर्णाली डेभलपमेन्ट बैंकको कारोबारमा रोक

कर्णाली डेभलपमेन्ट बैंकको वित्तिय अवस्था ‘समस्याउन्मुख’ देखिएको छ । बैंकबाट प्रवाह भएको कुल ऋणमध्ये ४० प्रतिशतभन्दा बढी खराब कर्जा भएको प्रमाणित भएपछि नेपाल राष्ट्र बैंकले सबै कारोबारमा रोक लगाएको हो । 

राष्ट्र बैंकको वित्तिय संस्था सुपरिवेक्षण विभागले आज सार्वजनिक सूचना निकालेर बैंकलाई शीघ्र सुधारात्मक कारबाहीस्वरुप थप निक्षेप लिन र कर्जा प्रवाह गर्न रोक लगाएको जानकारी गराएको छ ।

बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकले तोकेबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४० दशमलब ८५ प्रतिशत कायम रहेको विभागको भनाइ छ ।

विभागद्धारा जारी सूचनामा उल्लेख छ, ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तिय परिसूचकहरुमा सुधार गर्ने शर्तमा आजैका मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको व्यहोराको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

टिप्पणीहरू