छिर्के दाउ अहिले छेडिएको हो र !
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पोडैल राजनीति छोडेर काठमाडौंमा डेरा लिई बसेका बेला एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीको घरमा बिहानै चिया खाएर राजनीतिक टिकाटिप्पणी गर्न जान्थे । यसै कारण अष्टलक्ष्मी शाक्यलाई पाखा लगाएर उनलाई मुख्यमन्त्री बनाउन भण्डारीले लबिङ गरेको जानीसुन्ने नेताहरू बताउँछन् ।
त्यसपछि तत्कालीन एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई अघि सारेर बागमती प्रदेशमा अष्टलक्ष्मी भए पनि ठीकै भन्न थालियो । त्यसबेला पूर्वमा माधवकुमार नेपाल पक्षधर भीम आचार्यको बलियो अवस्था थियो । तर भण्डारी र ओलीको दह्रो सम्झौताका कारण कोशीमा शेरधन र बागमतिमा डोरमणिले बाजी मार्न पुगे । राजेन्द्र पाण्डेलाई ओलीले आश्वासन दिए पनि भण्डारीसँगकै सम्झौताका कारण कुरा डोरमणिमा टुंगिएको थियो ।
कोशीमा शेरधनले भीम आचार्यलाई संसदीय दलको नेता छान्ने चुनावमार्फत् पन्छाएका थिए । माधव नेपाल पक्षधरले दलकै नेतामा किन चुनाव गराइँदैछ भन्ने कुराको चुरो बुझ्न सकेनन् । भीम आचार्य, राजेन्द्र पाण्डेसहितलाई मैदानमा उतारे । अहिले पनि विद्या भण्डारी ओलीसँग जुधेर राजनीतिमा आउने सम्भावना बराबर छ । ओलीले आफ्नो रुचि वा इच्छाअनुसार शंकर पोखरेललाई उकास्न असफल हुने अवस्थामा मात्रै विद्यालाई अघि सारिने हो ।
त्यसो त भण्डारीले के गर्दा पार्टी एकताबद्ध र बलियो हुन्छ ? भन्दैे नेता तथा कार्यकर्ता र भेट्न आउने शुभेच्छुकहरूसँग निरन्तर सुझाव मागिरहेकी छन । उनलाई धादिङका भूमि त्रिपाठी, नुवाकोटका केशव पाण्डे, मकवानपुरका कृष्ण दाहाल, बाजुराका कर्ण थापा, मोरङ विराटनगरका विनोद ढकाल, काभ्रेका गोकुल वाँस्कोटाले कुनै न कुनै निहुँमा भेटघाट गरेर सुझाव दिने गरेको अवस्था छ । यी सबै प्रकरणहरूलाई नजिकबाट नियाल्ने हो भने एमालेमा ओलीको तुरुपको एक्का अहिले पनि जारी छ । यसले ओलीको घटेको क्रेजसँगै एमालेलाई पनि जनताको माझबाट विस्तारै टाढा पुर्याउन सक्छ ।
हिजो आई लभ यु भन्नेहरुको भीड थियो, अहिले हुटिङ हुन थालेको छ । तसर्थ एमाले र स्वयं ओलीले पनि अब गम्भीर हुनुपर्ने बेला आएको छ । यो अनुभूति भए पनि नेता र कार्यकर्ताहरूले चुइँक्क गर्न सकेका छैनन् । ओलीसँगै एमालेरुपी नाउ डुब्यो भने केमा बसेर भावी नेता तथा कार्यकर्ताहरू जनतामाझ तैरिँदा हुन् ? प्रश्न गर्ने बेला आएको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू