प्रधानमन्त्री ओली चीन प्रस्थान (फोटोसहित)

प्रधानमन्त्री ओली चीन प्रस्थान (फोटोसहित)
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएको छ । 

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ केही बेरअघि चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् । 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई भोलि चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नुहुने कार्यक्रम छ । त्यसपछि दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुनेछ । भोलि नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ । 

मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नुहुनेछ भने बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य,  प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित सांसदहरु, सचिवहरु, सुरक्षागार्ड, चिकित्सक, सञ्चारकर्मी र निजि क्षेत्रका प्रतिनिधि गरी ८७ जना सहभागी छन् ।

तस्बिरहरुः

टिप्पणीहरू