छविलाई काठमाडौं पठाएपछि रविको बयान, डोलप्रसाद पनि फर्के
सहकारी ठगी मुद्दामा बयानका लागि वीरगन्ज पुर्याइएकामध्ये नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीलाई काठमाडौं हुँदै पोखरा पुर्इएको छ । उनलाई पोखरा लैजाने क्रममा आज बिहान सिमराबाट बुद्ध एअरको उडानमा काठमाडौं ल्याइएको थियो । यसअघि पोखराबाट जोशीलाई सडक मार्ग हुँदै वीरगञ्ज पुर्याएपछि हिजो सरकारी वकीलको कार्यालयमा बयान लिइएको थियो ।
हिजो पोखराबाट काठमाडौं हुँदै विमानमा सिमरा र त्यसपछि गाडीमा वीरगञ्ज लगिएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान भने आज कार्यालय समयपछि शुरु भएको छ । जोशीसँगै लगिएका रामबहादुर खनालसँग पनि हिजो नै बयान लिइएकाले आज उनलाईसमेत काठमाडौं हुँदै पोखरा लगिएको हो ।
रविलाई सम्भव भएसम्म आज साँझ र नभए भोलि सिमराबाट काठमाडौं हुँदै पोखरा पठाइने छ । उनीहरुमाथि सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको साढे ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर हिनामिना गरेको आरोप छ ।
जोशी र खनाल सवार बुद्ध एअरको उक्त उडानमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाह, पूर्वमन्त्री तथा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पनि सिमराबाट काठमाडौं आएको बुझिएको छ ।
टिप्पणीहरू