बालुवाटारमा पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा.सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरुलाई पद तथा गोपनीयताको शपग गराउनुभएको छ ।
आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीले प्रमुख आयुक्त आचार्यबाट शपथ लिनुभएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति थियो ।
शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रिपरिषद्को मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा प्रमुख आयुक्त र आयुक्तहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो । अघिल्ला पदाधिकारीहरुको कार्यकाल अस्तिदेखि सकिएको हो ।
टिप्पणीहरू