सेनाका को–को घर जाँदै ?
केही दुईतारे जर्नेल छिट्टै सेवाबाट बिदा हुने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको सचिवालय हेर्दै आएका लमजुङका आशबहादुर गुरुङ माघमा घर जाने बुझिएको छ ।
सुदर्शन सिलवाल पनि घर जाने लाइनमा छन् । पूर्वडिआइजी तथा एमाले पूर्व सांसद नवराज सिलवालका भाइ हुन् । फागुनमा सेवाबाट अवकाश हुने उनी बर्दिबासस्थित मध्यपूर्वी पृतनामा छन् ।
सुविधासम्पन्न सो पृतनामा प्रधानसेनापति पूर्णचन्द्र थापाकै पालामा क्यान्टोनमेण्ट पनि निर्माण गरिएको छ । अस्पताल, मेडिकल, स्कूल सबै त्यहीँभित्र छ । जग्गा धेरै भएर गल्फ कोर्स पनि बनाइएको छ । त्यसैगरी, यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका पोखराका पृतनापति सन्तोषबल्लभ पौडेल पनि घर जाँदैछन् । उनीहरू गएपछि रिक्त हुने पदमा को आउँछ भन्ने तय भइसकेको छैन । वरिष्ठताको आधारमा प्रेमबहादुर पुन, हरेन्द्र पाठकलगायतलाई पठाइने गाइँगुइ छ ।
आशबहादुरको ठाउँमा प्रेमबहादुर जाने सम्भावना छ । उनी हाल शान्ति सेना निर्देशनालयमा छन् । ‘उहाँ सिनियर हुनुहुन्छ । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा उहाँको कार्यालय हेर्नुभएको थियो’ स्रोतले भन्यो । हरेन्द्र भने हेटौंडास्थित मध्य पृतना जाने देखिएको छ । उपरथी प्रदीपजंग केसीको बलाध्यक्ष रथीमा बढुवा भएपछि उनलाई त्यहाँको पृतनापति बनाएर पठाउन लागिएको हो । हालै दुईतारेमा बढुवा भएका मधुकर कार्की सन्तोषबल्लभको ठाउँमा पोखरा जाने अनुमान छ ।
गंगा विष्टलाई स्कूलको जिम्मेवारी
सशस्त्र प्रहरी बल, नेपालका हवल्दारकी श्रीमतीसँग लागेको आरोपमा दुई महिनाभन्दा बढी सैनिक हिरासतमा थुनिएका रौतहटको वीरदल गणका लेफ्टिनेन्ट कर्णेल गंगा विष्टलाई बुटवलस्थित सैनिक स्कूल हेर्ने जिम्मेवारी दिएर पठाइएको छ । हवल्दारकी एफएममा बोल्ने श्रीमतीलाई फसाएको आरोप लागेका उनलाई सैनिक अनुशासन उल्लंघन गरेबापत दुई महिना सैनिक हिरासतमा राख्नुको साथै बढुवा कट्टाको कारबाही गरिएको छ ।
टिप्पणीहरू