युट्युबमा भ्रम छर्नेलाई विदेशमै समात्ने तयारी

युट्युबमा भ्रम छर्नेलाई विदेशमै समात्ने तयारी
सुन्नुहोस्

जताततै युट्युबरको लाम छ । को पत्रकार, को युट्युबर ? एउटा क्यामेरा र बुम बोकेर जता, जसरी सोझ्याए पनि कसैले खै तिम्रो प्रेस पास भनेर नसोध्ने भएपछि हप्कीदप्की गर्न पाइएकै छ । न उनीहरुसँग सूचना तथा प्रशारण विभागले दिने प्रेस पास हुन्छ न ती युट्युब च्यानल कतै दर्ता नै गरिएको पाइन्छ । यसरी नै विद्युतीय सञ्चारमाध्यममार्फत् तथ्यहीन, अन्टसन्ट र अफवाह फैलाउने सामग्रीहरु प्रेषित गर्ने क्रम ह्वात्तै बढेसँगै सरकारले अब भने तिनीहरुमाथि राम्रै निगरानी राख्न लागेको बुझिएको छ । यस्ता मानिसको  प्रारम्भिक सूचिमा विदेशमा बसेर नेपालको शान्त वातावरणलाई भंग बनाउन खोज्नेहरु पनि छन् । अमेरिका बस्ने टंक दाहाल तिनैमध्येका हुन् । 

युट्युबमा उनको ‘टंक दाहाल’, ‘टेक टंक’ लगायत च्यानल छ । उनले ‘नो बकबास, वन्ली प्रुफ’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई ‘म्यानिपुलेट’ गरिरहेको देखिन्छ । उनले सहकारीको अर्बौं रकम घप्ला गरेर फरार जिबी राईमाथि थुप्रै भिडियो बनाएका छन् । त्यसैगरी, विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी भनी अफवाह फैलाएको विषयमा पनि सत्यको चिरफार भन्दै भिडियो पोष्ट गरेका छन् । 

त्यस्तै, ‘भदौमै नेपाल आएका जिबी राईलाई रातारात कसले भगायो ?’,‘जिबी राई तर्फको भनिएको अडियोबारे सत्य के हो ?’,लगायतका भिडियोहरु समेत उनैले बनाएका हुन् । 

यस्तैमा कतिपयले ‘टंक आऊ, देश बचाऊ’ सम्म भन्न थालेका छन् । आफूलाई खोज पत्रकार बताउने टंकले देश हल्लाउने, बिस्फोट हुन सक्ने, सत्ता उलटपुलट हुने अडियोहरु साथमा भएको दाबी गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एक अधिकारीका अनुसार उनीमाथि प्रहरीले निगरानी राखिरहेको छ र उनले बनाएका भिडियोहरुबारे पनि अनुसन्धान भइरहेको छ । नेपालमा आतंक फैलाउने भिडियो बनाउने क्रम नरोकिएमा टंकलाई समात्नका लागि रेड कर्नर नोटिससम्म पनि जारी हुने उनले बताए । यसबीच उनी अमेरिकी नागरिक भैसके । किन नेपाली नागरिकता बोकेर हिँडिरहेका छन् भन्नेबारे बुझ्न प्रहरीले दूतावाससँग सम्पर्क गर्न लागेको छ । 

‘विदेशमा बसेर हावादारी बोल्न त मिलेन नि ! उनले (टंक दाहाल) जथाभावी बोलिरहेका छन् । नेपालीमाझ भ्रम पैदा गरिरहेका छन् । हामीले नोटिसमा राखेर अनुसन्धान गरिरहेका छौं । यस्तै अवस्था रह्यो भने रेड कर्नर नोटिस पनि जारी गर्नु पर्ने हुन्छ’, ती अधिकारीले भने । 

बालेन साह र दुर्गा प्रसाईंलाई चर्चामा ल्याउने र अभियन्ता बनाउने पनि युट्युबर ‘पत्रकार’ नै हुन् । उनीहरुले तिनलाई खुशी पारेर आफ्ना कुरा प्रचार गराउँदै आएका थिए । प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईं पक्राउ परेपछि तिनको भागाभाग छ । प्रहरीले केहीलाई नियन्त्रणमा लिएर छोडेको छ भने कतिपयको खोजी भइरहेको छ।  

के भन्छ साइबर ब्यूरो ? 

नेपाल प्रहरीको साइबर ब्युरोका उपरीक्षक (एसपी) दिपकराज अवस्थीले भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्नेहरु विदेशमै भएपनि कानुनको दायरामा आउने बताए । उनीहरुलाई समातेर ल्याई विद्युतीय कसूरबमोजिम कारबाही गरिने जानकारी पनि दिए । 

 

टिप्पणीहरू