चकित पारेकै हो त यसपटकको चुनावले ?

चकित पारेकै हो त यसपटकको चुनावले ?

देशका विभिन्न ४४ स्थानमा गत हप्ता सम्पन्न निर्वाचनमा पहिलो र दोस्रो कांग्रेस वा एमाले, तेस्रो स्वतन्त्र र चौथो माओवादी हुने भनेर ठोकुवा गर्नेहरु धेरै थिए । सबैभन्दा ठूलो मानिएको कीर्तिपुरको निर्वाचनलाई सानो जनमत संग्रहको रुपमा लिनेहरु पनि थुप्रै थिए । निर्वाचन सकिनेबित्तिकै मैले फेसबुक वालमा कसले जिते हुने भनेर लेखें । स्वादअनुसारका उत्तर आएपछि फेरि कसले जित्ला भनेर लेखें । प्रायःजसोले स्वतन्त्रले जितिदिए हुन्थ्यो भने त केहीचाहिँ माओवादीले जित्नुपर्छ भन्नेहरु समेत देखिए । 

कांग्रेस, एमाले समर्थकहरुले माओवादीको स्थान चौथो हुने भन्न छुटाएनन् । दुई जना साथीले कांग्रेस र माओवादीबीच कडा टक्कर पर्ने लेखे । नभन्दै ती दुईबीच झिनो मतले हारजित भयो । जसले माओवादीको त्यो हविगत हुन्छ भनेका थिए, उनले उसको उद्गमस्थल ध्वस्त भएको समाचार पनि शेयर गरे । रुकुम र रोल्पाका दुई वडामा माकेले हार व्यहोर्नुप¥यो । रुन्टीगढी ४ मा माओवादी उम्मेदवारको मात्र ७० मत आउनु स्वाभाविक थिएन ।

त्यहाँ कांग्रेसले ६४३ र एमालेले ५३५ मत प्राप्त गरेका छन् । तर, त्यहाँ यसअगाडि पनि माओवादीले जितेको थिएन । रुकुम पश्चिमको सानीभेरी यसअगाडि कांग्रेसले जितेको ठाउँ हो । यसपालि एमाले र जसपासहित मिलेर ५९० मत पाएका थिए भने माओवादी एक्लैको ५३७ थियो । यसरी लालकिल्ला तोडेको हल्ला फैलियो । केही समय त हो कि जस्तो पनि भयो तर वास्तविकता त्यो थिएन । 

माओवादीले पहिला जितेको पाँच वडामा हार स्वीकार्नुपर्‍यो । दार्चुलाको दुहुँ–५ मा कांग्रेस र माओवादीका संयुक्त उम्मेदवारले ५५२ मत प्राप्त गरेका थिए । त्यहाँ एमालेले पाएको मत ३०२ हो । अहिले कांग्रेसले ३७८ र दोस्रो एमालेले ३५८ मत प्राप्त गरेका छन् । माकेले भने ९८ मत पाएबाट त्यहाँ २०७९ सालमा कांग्रेसको सहयोगले मात्र जित हासिल हुन सकेको प्रष्टै छ । 

कालिकोट, तिलागुफा–४ को स्थिति झन् फरक थियो । त्यतिबेला कांग्रेस र एमालेले ३ र ४ भोट मात्र पाउँदा माओवादीलाई २३४ मत हात लागेको थियो । यो शायद नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई पराजित गर्न सबै मिल्दाको परिणाम हुनुपर्छ । त्यतिबेला मादलको मत १६१ थियो । जसले यसपटक १४३ मत ल्याएर जित हासिल गरेको छ । त्यहाँ माके एक्लैले ११५ मत पाएको छ, एमालेले कांग्रेसको समर्थनमा ७८ मतमा चित्त बुझाएको छ ।

पहिला र अहिले पनि छुट्टाछुट्टै लडेर हारजित भएको चाहिँ तीन स्थान मात्रै हो । हेटौंडा नगरपालिकाको वडा नम्बर १२ मा ४१ मतले कांग्रेसलाई पछाडि पारेर माओवादीले विजय हासिल गरेकोमा एमाले कांग्रेसभन्दा १५ मत कम पाएर तेस्रो भएको थियो । यसपालि भने यहाँबाट कांग्रेसले २०६३ ल्याएर जितेको छ । दोस्रोमा माओवादीले १५६० ल्याउँदा एमालेले १३९८ पाएको छ । 

जाजरकोटको कुसे–७ मा पनि पहिला र अहिले तीनै दलका उम्मेदवार थिए । त्यतिबेला माओवादीले ३८० प्राप्त गरेर पहिलो, ३१८ ल्याएर कांग्रेस दोस्रो र १४८ मतसहित एमाले तेस्रो भएका थिए । अहिले कांग्रेस ३४७, माके ३३२ र एमालेले २५२ मत पाएका छन् । 

महोत्तरी नपा–२ मा गत निर्वाचनमा ४३३ मत ल्याएर पहिलो भएको माओवादी अहिले ५३४ मतसहित दोस्रो स्थानमा छ । अहिले जित हासिल गरेको एमालेले ६३१ पाएको छ । उसको यसअघि २८७ मत थियो । कांग्रेसले यसअघि ३७५ पाएकोमा घटेर २८४ मतसहित तेस्रो भएको छ । 

काठमाडौंको कीर्तिपुर र दोलखाको गौरीशंकर पालिका दुवैमा माओवादी उपविजेता भएको छ । कीर्तिपुरमा केही आशा जागे पनि गौरीशंकरमा भने जित निश्चितजस्तै थियो । तर, गत निर्वाचनभन्दा निकै कम मतदान भएका यी दुई नगरमा कांग्रेस–एमाले एक–एक ठाउँ विजयी भएका छन् । गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा यसअगाडि कांग्रेसले ४७४१ मतले जितेको थियो भने दोस्रोमा एमालेले ३२८१ मत पाएको थियो ।  माओवादीले भने त्यसबेला रुखमा मत हाल्यो । यसपालि एमालेले २८०५ मत पाएर जित्दा माकेले २०५ कम मत पाएको छ । तेस्रो कांग्रेसले १७२७ मतमै चित्त बुझाउनुप¥यो । 

कीर्तिपुर नगरपालिका प्रमुख प्रायःले एमालेले जित्ने यकिन गरेका थिए । त्यहाँ गत निर्वाचनमा पनि छुट्टाछुट्टै उम्मेदवार थिए । त्यतिखेर कांग्रेस ९०४३, एमाले ५५०७, माओवादी ४०९० अनि एकीकृत समाजवादीले ११५३ मत पाएका थिए । जम्मा एक जना स्वतन्त्रलाई १३ मत गएको हो । यसपटक कांग्रेसले नै जिते पनि मतदानमा भने व्यापक परिवर्तन आएको देखिन्छ । माओवादीले पाएको ४५५५ मतमा एकीकृत समाजवादीको पनि मिसिएको छ । कलम चिह्नमा केवल ५२ मत देखिनु यसको प्रमाण हो । ११ जना स्वतन्त्रको कूल मत ५०९० छ । 

यस उपनिर्वाचनका सन्देश प्रष्ट छन्– सरकारवादी पार्टीहरुसँग जनता अत्यन्त रुष्ट छन्, माओवादी पार्टीप्रति केही आशा बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गाउँघरमा प्रभाव जमाउन सकेको छैन । राप्रपाको खासै अस्तित्व देखिएन । स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेको छ । झापाको विजय र कीर्तिपुरमा प्राप्त मत यसको प्रमाण हो । तर, स्वतन्त्रबाट अन्य पार्टीका भन्दा बढी उम्मेदवार हुनु, एकापसमा सहकार्य गर्न नसक्नु ठूलो समस्या हो । एमालेले ठूलो स्वरमा उठाउने गरेको दुई दलीय व्यवस्थातर्फको यात्राचाहिँ यहींबाट रोकियो । 

निर्वाचन वितृष्णाको परिणाम मात्र नभई संगठनको बलियो आधार पनि हो । स्वतन्त्र भनेर उठ्दैमा मत पाइने लोभमा अनगिन्ती उम्मेदवार उठ्नु उचित छैन । ४१ पदका लागि भएको निर्वाचनमा २० वटा दलका र स्वतन्त्र १०२ गरी जम्मा ३७६ जना खडा थिए । 

माओवादीले थप बल गर्न सकेको भए सुनसरीको गढी–५ मा २२ मत र जाजरकोटको कुसे–७ मा १५ भोट थप्न गाह्रो हुने थिएन होला । त्यस्तै कीर्तिपुरमा विभिन्न तहका नेता अलि बढी खटिएको भए जित हासिल हुने सम्भावना पनि थियो । २०७९ को निर्वाचनपछि गाउँघरबाट युवायुवतीहरु ठूलो संख्यामा विदेश गएको प्रमाण पनि यो निर्वाचनले छाडेको छ । त्यतिबेला ७१ प्रतिशत मतदान भएको थियो भने अहिले ६२ प्रतिशत मात्र मत खसेको छ । या त चुनावप्रति मतदाताले चाख दिएनन् या ती देशबाहिर गइसके । मृत्यु हुनेको पनि केही संख्या हुनुपर्छ । 

कोशीमा माओवादीले प्रगति गरेको देखिन्छ । तर, पहिलादेखि राम्रो गर्दै आएको कर्णाली, सुदूरपूर्व र लुम्बिनीका केही स्थानमा अति नै न्यून मत प्राप्त गर्नुको कारण भने स्थानीय नेतृत्वको पहलकदमी नपुग्नु नै हुनुपर्छ । प्रदेश अनि संघीय सांसद जित्ने तर केही वडामा १७, २६, ७० मत मात्र पाउने ? बझाङको सुर्मा, डोटीको पूर्वचौकी, रोल्पाको रुन्टीगढीमा प्राप्त मत संगठन निर्माणमा ठूलो असन्तुलनको नमूना हो । 

१२ वर्षमा खोला पनि फर्किन्छ भनेजस्तै नेपालको राजनीतिक इतिहासमा २० वर्षमा फेरि त्यही अवस्था ल्याउन अत्यावश्यक छ । यसका लागि कामना मात्र गरेर पुग्दैन । गाउँस्तरका नेतासमेत काठमाडौंमा थुप्रिने परम्परालाई ध्वस्त पारिनुपर्दछ । मन्त्रालय धाएर मात्र जीवन गुजारा गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्दछ ।
 

टिप्पणीहरू