प्रधानमन्त्रीको आक्रोश : माओवादीका कारण मुलुकमा फटाहा र बेइमानहरू सक्रिय

सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको दुरुपयोग गरेर विपक्षीहरुले आफूविरुद्ध भ्रामक प्रचार गरिरहेको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हल्लाकै भरमा झूट फैलाउने प्रवृत्ति बढेको दाबी गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको हिजोको साधारण सभा तथा नीति अधिवेशनमा प्रधानमन्त्री ओलीलाई अनेक प्रश्न गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जबकि, उक्त भिडियो सम्पादित हो । तर त्यही भिडियो प्रयोग गरेर विपक्षीहरुले आफूविरुद्ध दुष्प्रचार गरिरहेको प्रधानमन्त्रीको भनाई छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भन्नुभयो, ‘जुन दिन यो देशमा माओवादी पलायो, त्यहीँ दिनबाट जाली, फटाहा र बेइमानहरू सक्रिय भए । र प्रचण्ड महोदयको नेतृत्वमा यो काम भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले समाजिक सञ्जालको दुरुपयोगले हैरानी बनाउन थालेको पनि बताउनुभयो । वामदेव गौतमले सम्पादित भिडियो हेरेर ‘अब राजीनामा दिनू’ भन्दै फोन गरेको पनि उहाँले सुनाउनुभयो । 

प्रधानमन्त्री ओलीले त्यसबारेको सुनाउँदै भन्नुभयो :

‘एउटै चिज बोल्या छ त्यसमा । यता कटायो, उता कटायो अनि ल्याएर जोड्यो । अहिले भर्खर म गाडीमा आउँदै थिए, वामदेवजीले फोन गर्नुभयो । उहाँले के भन्नुभयो भने मदन भण्डारी काँग्रेसले मारेको हो, मलाई पहिले नै थाहा थियो, तर म चुप लागेँ । काँग्रेसले मार्या भन्ने थाहा थियो, तर अब म बूढो पनि भइसकेँ, जेसुकै भए पनि केही छैन, त्यसैले म सबै कुरा भन्दैछु । सबै मेरै स्वरमा छ । अब केपी ओलीले  प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्छ । पार्टी अध्यक्षबाट पनि राजीनामा गर्नुपर्छ । तिम्रो ठूलोबालाई भन्देउ भनेर राजेश (स्वकीय सचिव)सँग कुरा गर्दै हुनुहुन्थ्यो । फोन राजेशसँग थियो, वामदेवजीको नम्बर देखेपछि राजेशबाट फोन तानेर मैले उठाएको थिएँ । यस्तो अपराध गरेर बस्न पाइन्छ भन्दै एकछिन पड्किनुभो । तिम्रा ठूलोबालाई भन्देउ भन्नुभयो । मैले नि ‘हस हजुर’ भनेँ । अब के भन्नु । फोन राखेँ । यस्तो छ अवस्था छ । भिडियोमा मेरो स्वर चिन्ने, अनि मसँग बोल्दा मेरै आवाज नचिन्ने । उहाँलाई समेत भ्रम पर्ने गरी हल्ला गरिँदैछ । उहाँलाई पनि भ्रम त पर्नु नपर्ने हो, किनकि वामदेव गौतमजी र म त नङ र मासु जसरी एउटै विचारमा, एउटै यात्रामा हिँडेका साथी हौं । अहिले पो उहाँलाई के केले छोयो, म जान्दिनँ ।’

टिप्पणीहरू