मुद्दा दायरअघि रविको आठौं पटक म्याद थप
पूर्व उपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप चार दिन हिरासतमै रहने भएका छन् । आठौं पटक म्याद थपको लागि कास्की जिल्ला अदालत लगिएकोमा न्यायाधीश हिमलाल बेल्बासेको इजलासले थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले लामिछानेविरुद्ध तीनवटा कसूरमा मुद्दा चलाउन माग गर्दै हिजो जिल्ला सरकारी वकील कार्यालयमा प्रतिवेदन बुझाएको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दर्ता गर्नुपर्ने प्रहरीको माग छ ।
सरकारी वकील कार्यालयले प्रतिवेदनको अध्ययन गरेपछि मुद्दा दर्ता प्रक्रिया अघि बढ्नेछ । गत कात्तिक २ गते वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेले विभिन्न जिल्लामा पुगेर इन्कारी बयान दिएका छन् । तैपनि उनको संलग्नता पुष्टि हुने पर्याप्त आधार र प्रमाण भेटिएको प्रहरी अधिकारीहरु बताउँछन् ।
टिप्पणीहरू