ऐतिहासिक र सांस्कृतिक धरोहर ‘जानकी मन्दिर’ (फोटोफिचर)

ऐतिहासिक र सांस्कृतिक धरोहर ‘जानकी मन्दिर’ (फोटोफिचर)

धनुषाको जनकपुरधाममा अवस्थित जानकी मन्दिर धार्मिक पर्यटनको महत्वपूर्ण स्थल हो । धार्मिक हिसाबले नेपाल र भारत दुवै मुलुकका हिन्दु धर्मावलम्बीको सम्बन्ध सेतु बनाउन पनि यो मन्दिरको महत्वपूर्ण भूमिका छ । 

जनकपुर माता सीताको जन्मस्थल हो । यसैले, यो मन्दिरलाई पवित्र हिन्दु धर्मस्थलको रुपमा चिनिन्छ । जानकी मन्दिरमा भारतबाट वर्षेनी विवाह पञ्चमीको अवसरमा जन्तीका रुपमा तीर्थयात्रीहरु समेत आउने गरेका छन् । 

यो मन्दिर पुग्ने जोकोहीलाई यहाँको कलात्मक  बनावटले मन्त्रमुग्ध बनाउँछ । ऐतिहासिक रुपले महत्त्वपूर्ण सांस्कृतिक धरोहर मानिएको जानकी मन्दिर मुगल शैलीमा बनेको छ । यस प्रख्यात मन्दिरलाई कलाको उत्कृष्ट नमुनाका रुपले हेर्न गरिएको छ । 

प्राचीन मिथिला राज्यको राजधानी जनकपुरमा अवस्थित यो मन्दिर विश्वभर रहेका हिन्दुहरुको आस्थाको केन्द्रका रुपमा परिचित छ । मन्दिरका निर्माणका लागि भारतको मध्य प्रदेश टिकमगढकी राजकुमारी बृषभानु कुमारीले नौ लाख चाँदीका असर्फी खर्च गरेकोले जानकीलाई ‘नौलाख मन्दिर’ पनि भनिन्छ । 

सन् १८९४ मा मन्दिर निर्माण गर्न थालिएकोमा १९११ मा सम्पन्न भएको हो । निर्माणको एक सय २१ वर्ष भएता पनि मन्दिरमा रहेका मूर्तिहरु सात सय वर्ष पुराना रहेका छन् । जानकी मन्दिरमा चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोजमा पूर्णिमा कोजाग्रत र साउन–भदौमा झुला मेला लाग्ने गर्छ । 

संघीय राजधानी काठमाडौंबाट सार्वजनिक बसमार्फत मन्दिर पुग्न ७–८ घण्टा लाग्छ । मन्दिर परिसरमा राममन्दिर, जानकी मन्दिर, विवाह मण्डप, धनुष सागर र गंगासागर पोखरीहरु छन् ।

तस्बिरहरु

टिप्पणीहरू