काँग्रेस सभापतिलाई साक्षी राखेर प्रधानमन्त्रीको दाबी

काँग्रेस सभापतिलाई साक्षी राखेर प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दल मिलेर नयाँ सरकार बनाएको दाबी गर्नुभएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताउनुभयो । कांग्रेस सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा ओलीले भन्नुभयो, ‘हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ । नेकपा एमाले र नेपाली काँग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन् ।’

त्यसक्रममा उहाँले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ इंगित गर्दै कडा व्यग्यसमेत गर्नुभयो । यी दुई दलका कारण अस्थिरता, अराजकता र भ्रष्टाचार मौलाएपछि जनताको चाहनाअनुसार काँग्रेस र एमालेले मिलेर सरकार बनाएको ओलीले बताउनुभयो ।    

‘कमिलाको समय सिद्धियो भने पखेटा पलाउँछ । अनि प्वालबाट निस्किएर फ्याट फ्याट उड्छ, तर माथि चरो हुन्छ । चराहरु आएर टप्पटप्प पार्छन् । उनीहरुले पनि जथाभावी बोल्न थाले, जथाभावी गर्न थाले । अस्थिरता, अन्यौलता, भ्रष्टाचारको कुनै सीमा रहेन’, उहाँले भन्नुभयो, ‘एमालेजस्तो पार्टी, कांग्रेसजस्तो पार्टी हुँदाहुँदै कसको के नाच हो यो ? जनताले भन्न थाले । त्यसपछि हामीले यो साह्रै भएर सच्याउनुपर्यो र अहिलेको संयुक्त सरकार बनाायौं ।’

प्रधानमन्त्री ओलीले राजाको पालामा हुने गरेका गतिविधि माओवादी अध्यक्ष प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेले दोहोर्याउन खोजेको आरोपसमेत लगाउनुभयो । ‘पहिले महेन्द्रको पालामा दलका नेताहरुलाई अराष्ट्रिय तत्व, भ्रष्टाचारी भनेर आरोप लगाइन्थ्यो । यो कुरा अस्ति प्रचण्ड–रविवाला सरकार हुँदा पनि त्यस्तै उनीहरुले दोहोर्यान खोजे’, ओलीको भनाई छ ।

विपक्षीले सरकारलाई जति सरापे पनि फरक नपर्ने दावी गर्दै प्रधानमन्त्रीले देशको विकास र राजनीतिक स्थिरतालाई संकल्पको रुपमा लिएको बताउनुभयो । भन्नुभयो, ‘हामीलाई सरापेको सराप्यै छन् । यो देख्न पाउँदैन, उ देख्न पाउँदैन, दशैँ देख्न पाउँदैन, तिहार देख्न पाउँदैन । तर सराप्दैमा त्यस्तो हुने होइन ।’

टिप्पणीहरू