विवेकको बिदाइ,अमेरिकामा नेपाली चेलीले देखाइन् बलिदानको नमूना
‘मन सँधै मनसँग नै हुन्छ ज्यान टाढा भए पनि
पुरानो हुँदैन माया जुनी जुनीलाई पनि !!’
कुमार सानु र सञ्जिवनीले गाएको चर्चित गीतको एउटा हरफ हो यो । यसको अर्थ आफूले माया गर्ने व्यक्ति सँगै नभए पनि माया रहिरहन्छ भन्ने हो । भनिन्छ,प्रेम अमर हुन्छ । आफूले प्रेम गर्ने व्यक्ति मरेर गए पनि ऊसँग जोडिएको भावनात्मक सम्बन्ध कहिल्यै टुट्दैन । बर्दियाका विवेक पंगेनी र सिर्जना सुवेदीको प्रेमिल जोडीको वियोग भएको छ । कलियुगमा ‘मुनामदन’ कहलिएको प्रेमिल जोडी सदाका लागि छुट्टिएको छ । विवेक संसारबाट बिदा भएका छन् ।
विवेकको निधन भए पनि सिर्जनाको मनमा उनी सँधै रहिरहने छन् । कलिलै उमेरमा ब्रेन क्यान्सरको शिकार भएका विवेकको अस्ति उपचारको क्रममा मृत्यु भएको हो । सँगै जीवन कटाउने बाचा गरेका विवेकको रोगको अगाडि केही लागेन । अन्ततः उनी सिर्जनालाई एक्लाएर गए । टिकटकबाट उदाएको उक्त जोडी छुट्टिदाँ सारा दुनियाँ दुःखी बनेको छ । विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट सो जोडी चर्चामा थियो । सिर्जनाले विवेकलाई नाच्न सिकाउँथिन् । नाच्न नजान्ने विवेकलाई थरिथरि ‘स्टेप’ सिकाएको भिडियो बनाएर सिर्जनाले टिकटकमा हाल्थिन् ।
धेरैले उनलाई ‘श्रीमान् नचाउने दिदी’ भन्थे । एकअर्काको ‘कम्पनी’ मा रमाइरहेका उनीहरुमाथि कल्पनासमेत नगरेको बज्रपात आइपर्यो । पढाइमा अब्बल विवेक भौतिकशास्त्रमा पीएचडी गर्न फुल स्कलरसिपमा अमेरिका गएका थिए । पार्किन्सन्सले थलिएकी आमाको निधन भएपछि अमेरिकाबाट फर्किएका उनको स्वास्थ्यमा समस्या देखियो ।
उपचारका क्रममा उनलाई चौथो स्टेजको क्यान्सर भएको खुल्यो । तैपनि अमेरिका गएका विवेकको उतै उपचार भइरहेको थियो । दुई वटा शल्यक्रियामार्फत ७० प्रतिशत ट्युमर निकालियो । बाँकी उपचार किमोथेरापी र रेडियसनमार्फत भइरहेको थियो । ओछ्यानमा थलिएका विवेकसँग भिडियो बनाएर सिर्जना टिकटकमा हालिरहन्थिन् । श्रीमानकै लागि उनले आफ्नो कपालसमेत काटेकी थिइन् । उनीहरुको निःस्वार्थ प्रेम सर्वत्र छाएको थियो ।
सिर्जनाको भिडियोहरु एकदमै भावुक बनाउने खालका हुन्थे । श्रीमानप्रतिको उनको प्रेम र समर्पण सराहनीय थियो । कलियुगमा पनि साँचो प्रेम बाँकी छ भनेर धेरैले सो जोडीको प्रशंसा गर्थे । श्रीमानको स्वास्थ्य अवस्था उनी ट्विटरमार्फत सार्वजनिक गर्थिन् । विवेकको स्वास्थ्य प्रगतिका लागि शुभचिन्तकहरु कामना गर्थें । उनीहरुको जोडीलाई धेरैले रुचाएका थिए ।
विवेक क्यान्सरसँग संघर्ष गरिरहे भने सिर्जना उनलाई बचाउन । तर, मृत्युलाई न टार्न सकिन्छ न छेक्न । अन्ततः विवेक सिर्जनालाई छोडेर सदाका लागि बिदा भए । सिर्जनाको सिउँदो पुछिएको छ । प्रेमिल जोडीको यो विछोडले धेरैका आँखा रसाएका छन् । मुटु भक्कानिएको छ । सिर्जनामाथि आइलागेको यो बज्रपातसँग लड्न हौसला दिन धेरैले प्रार्थना गरिरहेका छन् । सिर्जना र विवेकको प्रेममय सम्बन्ध धेरैका लागि पाठ बनेको छ । उनीहरुले असल जीवन साथीको उदाहरण दिएका छन् ।
भौतिकशास्त्रमा पीएचडी गर्न अमेरिका गएका विवेकको सो सपना भने अधुरै रह्यो । उनको निधनप्रति सामाजिक सञ्जालमार्फत धेरैले दुःख व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता रितु सिर्जनाको मायाले विवेकलाई अमर र चिरञ्जीवी बनाएको बताउँछिन् ।
‘कसरी हार भयो र प्रेमको ? सिर्जना बहिनीले अन्तिमसम्म साथ दिइन् । विवेक भाग्यमानी हुन् जसले यति समर्पित काखमा अन्तिम सास फेर्न पाए । मृत्यु त हामी सबैको अन्तिम सत्य हो टारेर टर्दैन । तर सिर्जना,तिमीले दिएको मायाले विवेकलाई सँधै अमर चिरञ्जीवी बनाएकी छौ । आज फेरि मुटु भरियो’,उनले लेखेकी छन् ।
महेन्द्र रिजाल रिकुमाली भन्छन्,‘क्यान्सरसँग हारेका विवेक पंगेनी,एउटा साँचो साक्षात् प्रेमको अन्त्य भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली साथै सिर्जनाजी र परिवारप्रति गहिरो समवेदना । तपाईं दुईको प्रेम सँधै साँचो प्रेमको परिभाषा बनेर जीवन्त रहिरहने छ ।’
टिप्पणीहरू