यता अभियन्ता मृत अवस्थामा, उता बालकोटमा बाउछोरा
भक्तपुरमा बाबुछोरा मृत भेटिएका छन् । खोटाङ घर भई हाल सूर्यविनायक नगरपालिका–२, बालकोट बस्दै आएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षीय प्रवीण आज बिहान कोठामै मृत फेला परेको बताइएको छ ।
तीन बाबुछोरा साँझ खाना खाएर अलग–अलग कोठामा सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एउटा कोठामा बाबु कुलप्रसादसँग जेठो छोरा मिलन र अर्को कोठामा प्रवीण एक्लै सुतेका थिए । तर आज बाबुछोरा मृत अवस्थामा भेटिएको र जेठो छोरा मिलन बेपत्ता रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
कुलप्रसाद र प्रविणको हत्या भएको हुनसक्ने उनको अनुमान छ । ‘शरीरमा चोट हेर्दा हत्या भएको हो कि भन्ने छ’, एसपी न्यौपानेले भने, ‘पोस्टमार्टमको लागि शव टिचिङ पठाएका छांै, रिपोर्ट आएपछि विस्तृत खुल्छ ।’
शनिबार राति नै हत्या भएको र हिजो दिनभर शवबारे कसैले थाहा नपाएको प्रहरीको भनाई छ । ‘शव हेर्दा अस्ति राती नै हत्या भएको देखिन्छ, कोठामा ताला झुन्डिएपछि हिजो दिनभर कसैले वास्ता गरेनन्, आज बिहान गाउँका आफन्तले सम्पर्क गर्न खोज्दा मृत्यु भएको खुल्न आयो’, एसपी न्यौपानले थपे,'मृतक कुलप्रसाद जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख रहेको बुझिएको छ । उनी केही दिनअघि दिक्तेलबाट छोराहरु भेट्न आएको बुझिएको छ । कुलप्रसादका जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् ।'
मानव बेचविखनविरुद्ध काम गर्ने शक्ति समूहकी संस्थापक सुनिता दनुवार पनि आजै बिहान मृत भेटिएकी हुन् । उनी जोरपाटीस्थित आफ्नै निवासको बेडमा मृत फेला परेकी थिइन् ।
बिहान श्रीमानले उठाउनुअघि नै प्राण त्यागेकी दनुवारलाई नजिकैको नेपाल मेडिकल कलेज पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण भने खुलेको छैन ।
टिप्पणीहरू