एनपीएलको हिसाबकिताबसँगै क्रान्तिकारीले माग्यो पार्किङ शुल्कको विवरण

एनपीएलको हिसाबकिताबसँगै क्रान्तिकारीले माग्यो पार्किङ शुल्कको विवरण
सुन्नुहोस्

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण अस्ति सकियो । अधिकांश विदेशी खेलाडी स्वदेश फर्किसकेका छन् । आयोजक नेपाल क्रिकेट संघ (क्यान) पनि खर्च/आम्दानीको हिसाबकिताबमा व्यस्त देखिन्छ । 

उता एनपीएलका खेलहरु भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको पार्किङसम्बन्धी लफडा चर्केको छ । सोही विषयमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले केन्द्रीय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्र राईलाई आजदेखि विश्वविद्यालय प्रवेशमा रोक लगाएका छन् । 

यसअघि अखिल क्रान्तिकारीसहित विभिन्न पाँच विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै एनपीएलको अवधिभर र खासगरी समापनको दिन (पुष ६) केही प्राध्यापक र स्ववियुका पदाधिकारीको मिलेमतोमा अपारदर्शी ढंगबाट पार्किङ शुल्क उठाइएको भन्दै विरोध जनाएका थिए । अपारदर्शी ढंगबाट उठाइएको पार्किङ शुल्कबारे छानबिन गर्न समिति बनाउनुनर्पे माग राख्दै विद्यार्थी संगठनले प्रिन्सिपल राईको कार्यकक्षमा ताला समेत लगाए । तर प्रिन्सिपलले छानबिनतर्फ कुनै चासो नदेखिएपछि विश्वविद्यालय परिसरमा रोक लगाइएको अखिल क्रान्तिकारीका एक नेताले जानकारी दिए । 

उनका अनुसार विश्वविद्यालयको गेट वरपर तीन बुँदे मागसहित कालो ब्यानरमा ब्यानरसमेत झुण्डाइएको छ । अपारदर्शी ढंगबाट उठाइएको पार्किङ शुल्कबारे छानबिन गर्न समिति बनाउनुपर्ने, पार्किङ शुल्कवापत उठेको रकम पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने र विश्वविद्यालयलाई हस्तान्तरण गर्नुपर्ने तथा यस कार्यमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने अखिल क्रान्तिकारीको माग छ ।
 

टिप्पणीहरू