कहिले आउने हो डा. मुकुलले भनेको सही समय ?

कहिले आउने हो डा. मुकुलले भनेको सही समय ?

भनिन्छ, बिग्रेको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डाक्टर मुकुल ढकाललाई धेरैले ‘बिग्रेको घडी’ भनिरहँदा उनले देखाउन खोजेको ‘सही समय’ को चर्चा हुन थालेको छ । 

रास्वपाका संस्थापक तथा विधान प्रस्तावकसमेत रहेका ढकाललाई सो पार्टीका सबैजसो नेताको 'आन्द्राभुँडी' थाहा छ, भलै सभापति रवि लामिछानेमाथि औँला उठाएवापत अनुशासन उल्लंघनको आरोपमा निलम्बित उनलाई विश्वास गर्नेहरुको त्यहाँ कमी किन नहोस् ! राजनीतिक दलका नेताहरु दुई चरित्र बाँच्छन् भन्ने भाष्य बनिरहँदा रविहरुका आन्तरिक र बाह्य चरित्रबारे ढकाललाई राम्रो जानकारी छ भन्नेमा धेरैकाे विश्वास कायमै छ ।

निलम्बनमा पर्नुअघि तीन दर्जन जिल्ला घुमेर तयार पारेको प्रतिवेदनमा डा. ढकालले औँल्याएका र नेतृत्वको कमजोरीबारे उधिनिएका बुँदाहरुले पनि यसको केही हदसम्म पुष्टि गरेको देखिन्छ । जहाँ उनले पार्टी सभापति लामिछाने,उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले, तत्कालीन सरकारमा सहभागी पार्टीका मन्त्रीहरुको कार्यशैली सुक्ष्मरुपमा केलाएका छन् । 

उनै ढकाल यतिबेला रास्वपाको भविष्य देखेर चिन्तित छन् । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दावी गर्दै नेता-कार्यकर्ता सडकमा ओर्लिंदा उनले रास्वपाको कमजोर रणनीतिकै कारण यो हालत भएको दावी गरेका थिए । रास्वपाभित्रैका केही व्यक्तिका कारण पार्टी संकटमा पर्दै गएको उनको बुझाई छ । 

‘रास्वपाको दिन अझै योभन्दा नराम्रो हुँदैछ । यसको कारण सरकारमा रहेका दल वा अन्य दल होइनन्, भित्रकै मान्छे हुन् ।’

हालैको एक अन्तर्वार्तामा ढकालले रास्वपाका दुई उपसभापति र पार्टीको भविष्यमाथि निर्मम समीक्षा गरेका छन् । सभापति लामिछाने पुर्पक्षमा जेल जाने ठोकुवा गर्दै भनेका छन्, ‘रास्वपाको दिन अझै योभन्दा नराम्रो हुँदैछ । यसको कारण सरकारमा रहेका दल वा अन्य दल होइनन्, भित्रकै मान्छे हुन् ।’

ढकालकाे भाषामा ‘रवि लामिछाने क्लब’का सदस्यहरु सभापतिको पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट हाल्न चाहन्थे । तर,उपसभापति वाग्लेले चाहेनन् / दिएनन् । ‘डिपी अर्याललाई असक्षम व्यक्तिको रुपमा खडा गरेर पार्टीको नेतृत्व लिने उहाँको पुरानै रणनीति हो’, उनले भनेका छन्, ‘रवि लामिछानेको पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिटसमेत हालेनन्, किनकि स्वर्णिम वाग्ले यो चाहँदैनन् । लामिछाने छुट्थे वा छुट्दैनथे,त्यो अर्कै कुरा हो ।’

त्यस्तै,सभापति लामिछानेविरुद्ध रास्वपा कार्यकर्ताले गरेको विरोध प्रदर्शन सफल हुँदैन भन्नेमा वाग्ले पहिल्यै जानकार रहेको पनि ढकालको विश्लेषण छ । डिपी अर्याललाई असफल देखाउन वाग्लेले आफैँ आन्दोलनको योजना बनाएको तर्क गर्दै थपेका छन्, ‘स्वर्णिम वाग्लेलाई पहिल्यै थाहा थियो नि यो आन्दोलन सफल हुँदैन भनेर । किनकि, विषय कानूनी प्रक्रियामा गइसकेपछि कानुनी तरिकाले अघि जाने हो । तर के भयो,आन्दोलनमा डिपीलाई लगाएर आफू अजरबैजान र कता-कता जानुभयो ।’

आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व लिने उद्धेश्यसहित वाग्ले अघि बढिरहेको ढकालको दावी छ । अहिले अर्याललाई कार्यवाहक सभापति दिनुको अन्तर्य खुलाउँदै उनले भनेका छन्, ‘एक महिना स्वर्णिम वाग्ले विदेशमै हुँदा यता बैठकले डिपी अर्याललाई कार्यवाहक सभापति तोक्न खोज्यो, तर उहाँले रोक्नुभयो । एक दिन भए पनि बैठकको अध्यक्षता गरेर डिपीलाई दिएको जस्तो देखाउन उहाँको चाहना हो । पार्टीको विधानले पनि त्यो अधिकार दिएकै छ । ज्येष्ठताको आधारमा वाग्लेको अध्यक्षतामा एक पटक लिगल बैठक त बस्नैपर्थ्यो । नत्र, त्यो बैठक अवैधानिक हुन्छ । त्यही बलमा उहाँले मैले डिपीलाई कार्यवाहक सभापति दिएँ भने पनि डिपी अर्यालले पनि फालिएको हड्डीको टुक्राजस्तै लिनुहुन्छ । त्यति भएपछि उहाँ पनि महानजस्ताे देखिने !’

रास्वपाको आगामी महाधिवेशनमा वाग्लेले नेतृत्व दावी गर्नेमा कुनै सन्देह नरहेको र अहिल्यैदेखि आन्तरिक तयारी गरिरहेको ढकालको दावी छ ।

टिप्पणीहरू