विद्यार्थीद्वारा विद्यालय तोडफोड
रौतहटको गरुडा नगरपालिकामा एक विद्यालयका विद्यार्थीले तोडफोड गरेका छन् । गरुडा नगरपालिकाका नगर प्रमुखकै कारण विद्यार्थीहरूले नगरपालिकाको भवन र नगरपालिकाको गाडीमा तोडफोड गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
गरुडा नगरपालिकास्थित नमुना माध्यमिक विद्यालयका विद्यार्थीले हिजो बिहिबार नेपाली विषयका शिक्षक शिवशंकर झाको सरुवाको विरोधमा नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । विद्यार्थीहरूको आक्रोशको कारण शिक्षक झाको सरुवा र उनको ६ महिनादेखिको तलब रोक्का गरिएको विवाद रहेको छ ।
शिक्षक शिवशंकर झाको सरुवा झाँझ पुल विद्यालयमा गरिएको छ। तर, उक्त विद्यालयमा झा नजाँदा उनको तलब रोक्का गरिएको छ। नगरपालिकाको निर्णयअनुसार, झा सरुवा गरिएको विद्यालयमा उपस्थित नभएसम्म तलब उपलब्ध नगरिने बताइएको छ। बिहिबार झा सरुवा गरेको विद्यालयमा जान विद्यार्थीहरूसँग विदाई माग्न पुगेका थिए । तर, विद्यार्थीहरूले सरुवा रोक्न पालिकामा गएर कुरा गर्ने बताए ।
झाले विद्यार्थीसँग यस्तो नगर्न आग्रह गरे पनि विद्यार्थीहरूले नमानेपछि विवाद चर्किएको हो । केही विद्यार्थीले नगरप्रमुखसँग कुरा गर्न प्रयास गर्दा नगरपालिकाको कार्यालयमा विवाद सिर्जना भएको थियो ।नगर प्रमुखसँग कुराकानी गर्न नगरपालिका पुगेका विद्यार्थीहरूमाथि नगर प्रमुख कन्थमणिप्रसाद जयसवालको इशारामा नगर प्रहरीले लाठ्ठी चार्ज गरेपछि स्थिति बिग्रिएको बताइन्छ । विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तोडफोड गर्नुका साथै नगरप्रमुख कन्थमणिप्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको गाडीलगायत अन्य सरकारी सवारी साधनहरूमा क्षति पुर्याएका छन् । यसैगरी, सर्वसाधारणका गाडीहरू पनि क्षति पुगेको छ ।
विद्यार्थीहरूका अनुसार, नगरपालिकाको नगर प्रहरीहरुले उनीहरूमाथि कुटपिट गर्नुका साथै धक्कामुक्का गरेर कार्यालयबाट निकाल्ने प्रयास गरेको थियो । यसले विद्यार्थीहरू थप आक्रोशित भएर तोडफोडमा उत्रिएको बताइएको छ ।
नगरप्रमुख जयसवालले घटनाप्रति गम्भीर प्रतिक्रिया दिँदै केही शिक्षकहरूले नै विद्यार्थीलाई उचालेको आरोप लगाएका छन् । उनका अनुसार, विद्यार्थीहरूको प्रदर्शन स्वाभाविक नभई योजनाबद्ध भएको हो ।
विद्यार्थीहरूले शिक्षक झालाई नमुना माध्यमिक विद्यालयमै राख्नुपर्ने अडान लिएका छन् । उनीहरूको भनाइमा, झा विद्यालयको शैक्षिक स्तर सुधार गर्न सक्ने सक्षम शिक्षक हुन् । उनले नेपाली विषयलाई सहज र सरल बनाउने शिक्षण शैलीका कारण विद्यार्थीहरूको प्रिय बनेका छन् ।विद्यार्थीमाथि गरिएको हस्तक्षेप र दुर्व्यवहारप्रति गडुरा नगरपालिकाका नगरप्रमुख प्रत्याशी दीपक यादवले आपत्ति जनानाएका छन् ।
यादवले विद्यार्थीमाथि भएको दुर्व्यवहार र हस्तक्षेप स्वतन्त्रताको अधिकार हनन भएको उल्लेख गरेका छन् ।शिक्षक सरुवाको यो विवादले गरुडा नगरपालिकामा शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पारेको छ । विद्यार्थीहरू, शिक्षक, र नगरपालिकाबीच संवाद गरी समस्याको समाधान निकाल्न ढिलाइ गर्नु हुँदैन ।
यस्ता घटनाले विद्यार्थीको शैक्षिक जीवन र विद्यालयको प्रतिष्ठामा प्रतिकूल असर पुर्याउन सक्छ । सरुवा जस्तो व्यवस्थापकीय निर्णयलाई विवादको विषय बनाउनु राम्रो होइन। तथापि, विद्यार्थीहरूको भावनालाई ध्यानमा राख्दै र नगरपालिकाको जिम्मेवारीलाई ख्याल गर्दै यस समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता छ ।
टिप्पणीहरू