जसलाई प्रधानन्यायाधीश बन्नबाट रोकियो
सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । हृदयाघातको कारण नर्भिक अस्पताल पुर्याइएका उनको उपचारक्रममा हिजो साँझ देहावसान भएको हो ।
२०६५ माघ ९ देखि २०७० चैत ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीश रहेका उनी न्याय क्षेत्रका थोरै इमान्दार र कर्मठमध्येमा पर्दछन् । सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख रहेको बेला वस्ती कानुनी सल्लाहकार थिए । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी,चिरञ्जीवी वाग्लेलगायतमाथि भ्रष्टाचारको मुद्दा लाग्दा उनी आयोगमा सल्लाहकार थिए ।
सर्वोच्चमा छोटो समय रहँदा पनि छिटो र सबैभन्दा धेरै मुद्दा छिनोफानो गर्ने न्यायाधीशको रुपमा चर्चित थिए । प्रधानन्यायाधीश हुने प्रष्ट रोलक्रमका उनलाई अस्थायी न्यायाधीशकै म्याद नथपेर घर पठाई गोपाल पराजुली र चोलेन्द्र समशेरहरुलाई रोलक्रममा चढाइएको थियो ।
घुस नखाने र सादगी जीवन शैलिका न्यायाधीश प्रकाशलाई घर पठाइएपछि न्याय क्षेत्र थप बदनामीतर्फ धसिएको त्यसपछिका विभिन्न घटनाक्रमले पुष्टि गरेको छ ।
मृतक वस्तीका छोरा विदेशमा रहेकाले भोलि मात्रै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
टिप्पणीहरू