केपी ओली कपटी हुन् : प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जाली, झेली, कपटी र बेइमानको उदाहरण भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीकै गृह जिल्ला पुग्नुभएका प्रचण्डले पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकार जालझेल र षड्यन्त्रबाट बनेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा राखेको प्रचण्डको आरोप छ । प्रधानमन्त्रीको प्रवृत्तिबारे टिप्पणी गर्दै भन्नुभयो, ‘उहाँको दिमागमा जालझेल बाहेक अरु केही छैन ।’ अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान एमाले र काँग्रेसको हेडक्वार्टरतिर सोझिएपछि सरकार ढलेको उहाँको निश्कर्ष छ । ‘विचौलियाको सेटिङ भत्काएपछि भ्रष्ट तत्वमा खैलाबैला मच्चियो र रातारात मेरो सरकार ढालियो’, उहाँले भन्नुभयो, ‘केही फरार अभियुक्त गिरफ्तार भएपछि, कांग्रेस र एमालेको हेडक्वार्टरतिरै सोझिएपछि सरकार फेरियो ।’
अब २०८४ को निर्वाचनमा माओवादीलाई २०६४ कै अवस्थामा फर्काउने प्रचण्डको अठोट छ । भ्रष्ट र दलालहरुलाई लखेट्ने बाहेक अन्य कुनै सपना नरहेको भन्दै थप्नुभयो, ‘अहिले देशैभरि जे देखापरेको छ, त्यसले माओवादीप्रति नयाँ आशा र भरोसा देखेको छु । अब मेरा लागि देश र जनतामा सुशासन दिलाउनु बाहेक अर्को सपना छैन । भ्रष्ट, दलाल, बिचौलियाहरुको सेटिङ भत्काउनेछु ।’
कार्यक्रममा राप्रपा र एमाले परित्याग गरेर माओवादीमा प्रवेश गरेका सयौँ कार्यकर्तालाई प्रचण्डले स्वागत गर्नुभएको थियो । छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्यसँगै आज बिहान झापा पुग्नुभएका प्रचण्डले कार्यक्रममा सरिक हुनुअघि राजवंशी समुदायको परम्परागत खानासमेत खानुभएको थियो । प्रचण्डसहित पार्टीका कोशी प्रदेश इञ्चार्ज हरिबोल गजुरेल र नेताहरु इन्द्रबहादुर आङ्बो, हर्कबहादुर नेम्वाङलगायतले केराको पातमा खाना खाएका हुन् ।
टिप्पणीहरू