मेयर र प्रशासकीय अधिकृतलाई एमाले र माओवादीको ज्ञापन

मेयर र प्रशासकीय अधिकृतलाई एमाले र माओवादीको ज्ञापन
सुन्नुहोस्

रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई एमाले मधेश प्रदेश कमिटी र माओवादी मधेश प्रदेश कमिटीले ज्ञापनपत्र बुझाएको छ । नगरपालिकालाई जनताको हकहितमा भन्दा आफ्नो निजी कम्पनीको रुपमा प्रयोग गरेको आरोप लगाउँदै एमाले प्रदेश कमिटी सदस्य प्रेम शंकर यादव र माओवादी प्रदेश कमिटी सदस्य राम प्रसाद राउतले नगर प्रमुख विनोद पटेल र प्रशासकीय अधिकृत खिमबहादुर भुजेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

पटेल र भुजेलले भ्रष्टाचार गरेको र नगरवासीको भावना विपरित कार्य गरेको उनीहरुको आरोप छ । उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित ऐन कानुन विपरित कार्य गरेका दुबै जनामाथि कारबाहीको माग राखेका छन् । अन्यथा कडा संघर्षमा उत्रने चेतावनी दिइएको छ ।

ज्ञापनपत्रमा वृन्दावन नगरपालिकाको सेवा केन्द्र विश्रामपुरमा निर्वाचित जन–प्रतिनिधि तथा कार्यालय प्रमुखलगायत सम्पूर्ण कर्मचारी अनुपस्थित हुनुको कारण, नगरपालिकाको अस्थायी मुकाम हर्षाहामा खोल्नुको कारण, नगरपालिका भित्रका कृषकहरुलाई खेतीको सिजनमा मलखाद उपलब्ध नगराउनुको कारण माग गरिएको छ । एमालेका प्रेम शंकर यादवले भनेका छन्, ‘नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी चालु आ.व. २०८१/०८२ को लागि टेण्डर गरिएको रमौली तथा बलरीघाटमध्ये कहाँबाट कति परिमाणको नदीजन्य पदार्थ उत्खनन् गर्ने भन्नेबारे तोकिएको छैन ।’

त्यसरी उत्खनन् गरिने नदीजन्य पदार्थको निम्ति कति मिटर लम्बाई, कति मिटर चौडाई कति फिट गहिराई भन्नेबारे केही बताइएको छैन । उत्खनन् मेशिनबाट गर्ने वा मानिसले ? उत्खनन गर्ने मेशिन कति वटा ? कति बजेदेखि कति बजेसम्म उत्खनन् हुने ? प्रत्येक दिनको उत्खनन् परिमाण प्रमाणित गर्ने आधिकारिक व्यक्तिबारे केही तोकिएको छैन । माओवादी केन्द्रका राम प्रसाद राउतले भनेका छन्, ‘नगरपालिकाको कुन कर्मचारीलाई कुन घाटको जिम्मा दिइएको छ ? निजको सम्पर्क नम्बर सहितको होर्डिग बोर्ड किन राखिएन ? प्रत्येक दिनको निकासी भएको नदीजन्य पदार्थ प्रमाणित परिमाणको फोटोकपी राजनैतिक दलबाट अनुगमन गर्ने व्यक्तिलाई उपलब्ध गराउनु पर्छ कि पर्दैन ?’ ती सबै जिज्ञासाको चित्तबुझ्दो जवाफ नआएमा कडा आन्दोलनमा उत्रने र सोबाट उत्पन्न हुने परिणामको जिम्मेवारी नगर प्रमुख हुनुपर्ने बताइएको छ ।
 

टिप्पणीहरू