शेखर जाँदा किन भागे काँग्रेस कार्यकर्ता
कांग्रेस नेता डा. शेखर कोइराला धनगढी जाँदा अगुवा कार्यकर्ताको भागाभाग भएको छ । प्रजातन्त्र सेनानी संघ प्रदेश अधिवेशन उदघाट्नको मौका पारेर नेता कार्यकर्ता समेत भेट्न पाइने अपेक्षासहित धनगढी पुगेका कोइरालालाई धेरैले भेटेनन् ।
खासगरी मुख्यमन्त्री कमलहादुर शाह कोइरालासँगको भेटलाई छल्न उनी आएकै दिन काठमाडौं हिँडेका थिए । अछाम जान तयार भएका उनी एकाएक क्रिकेट हेर्न कीर्तिपुर गएको तस्बिर सार्वजनिक भएका छन् ।
मन्त्रीहरू बहादुरसिंह थापा र मेघराज खड्कालाई पनि कोइराला भेट्न गएनन् । बरु अर्थराज्यमन्त्री प्रकाशबहादुर बम चाहिँ सभापति देउवासित त्यति खुशी नभएकोले भेट्न गएको अनुमान लगाइएको छ ।
कैलालीबाट डा. आरजु, डा. रणबहादुर रावल, डा. जीवनकुमारी राना, रामजनम चौधरी, इश्वरी न्यौपाने, नृपबहादुर बड र सुशीला मिश्र सात जना केन्द्रीय सदस्य छन् तर देउवासंग समदूरीमा रहेकी सुशीला मात्र गोप्यरूपमा भेट्न भएकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलमार्फत सभापति देउवासँग जोडिएका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र भने सेनानी संघको कार्यक्रममा देखिएका थिए ।
प्रदेश काँग्रेस सभापति वीरबहादुर बलायर कार्यक्रममा त गएनन् तर राति अबेर भेट्न गएको चर्चा चलेको छ । कोइरालालाई भेट्नेमा कांग्रेसको कार्वाहीमा परेका पुष्करनाथ ओझा पनि छन् । उनी स्वर्गीय शैलजा आचार्यको लाइनका नेता हुन् ।
कोइरालाको कार्यक्रममा उनकै पक्षका प्रदेशसभा सांसद दिवानसिंह विष्ट र जुनाकुमारी दानी मात्र सक्रिय थिए । प्रदेश समितिका महामन्त्री नरनारायण शाह सक्रियतापूर्वक कोइरालाको बसाईलगायतका काममा खटिएका थिए । उनी नेतृ आरजु राणाका कारण देउवासंग रुष्ट रहेको चर्चा छ । उनले महामन्त्री गगनको कार्यक्रम पनि व्यवस्थापन गरेका थिए ।
कोइरालालाई जिल्ला सभापति नारायण भट्टले पनि वास्ता गरेनन् । देउपा पक्षमै रहेका कैलाली जिल्ला उपसभापति खेम डगौंरा, क्षेत्र नम्बर ३ का सभापति रिता चौधरी, पुराना नेताहरू गोविन्दराज जोशी, वीरबहादुर हमाल, चन्द्रसिंह भट्टराई, संविधान सभा सदस्य बुद्धिसागर चौधरी र क्षेत्र नम्बर २ का पूर्व सभापति भक्तबहादुर थापा कोइरालाको कार्यक्रममा सक्रिय थिए ।
आश्चर्यजनक कुरा त महामन्त्री गगन थापा कैलाली आउँदा आलोचना गर्ने उनीपक्षीय उपसभापति भीम बडुवाल, लोकराज पाण्डेहरू अनुपस्थित थिए । युवा सचिव केशव मिश्र र नृप सुनार पनि कोइरालालाई भेट्न गएनन् । मिश्रले भने अघिल्लो पटक गगनको कार्यक्रम सञ्चालन गरेका थिए । गगन जाँदा धेरै कांग्रेस नेता, कार्यकर्ताले बिमारी परेको बहाना बनाएका थिए ।
कोइरालाको कार्यक्रममा नजाने र रोक्नेहरूका विषयमा नेता कृष्णबहादुर महराले फेसबुकमा लेखेका छन्– भारतका ‘र’ प्रमुख र सामान्य एजेन्ट भेट्न होइन ढोग्न दिल्लीसम्म पुग्ने नेताले आफ्नै नेता भेट्न भने एकअर्कालाई प्रतिबन्ध जस्तै लगाएका छन् । यस्तो काम नेताले होइन नेताका नोकरले गराएका होलान् ।
टिप्पणीहरू