‘प्रचण्डले अनावश्यक हस्तक्षेप नगरुन्’

‘प्रचण्डले अनावश्यक हस्तक्षेप  नगरुन्’
सुन्नुहोस्

उमेर हद राख्नुपर्ने र नहुने पक्षको अडानका कारण तोडफोडकै अवस्था आएपछि गत असोजमा उद्घाटित् नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन तीन महिना अवरुद्ध भयो । नेतृत्व चयन गर्न नसकि स्थगित भएको उक्त सम्मेलन उमेरहद लगाउनुपर्ने मतसहित टुंगिएको छ ।

यद्यपी संगठनको अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय कार्यसमिति चयनका लागि पुनःमतदान गर्न भने बाँकी नै छ । केन्द्रीय नेतृत्व चयनका लागि आगामी माघ १२ गतेको मिति तय गरिएको छ । कम्युनिष्ट पार्टी, अझ त्यसमा पनि माओवादी केन्द्रको भ्रातृ संगठनमा लोकतान्त्रिक पद्धतीको अभ्यास हुनुलाई धेरैले स्वागत गर्दै सकारात्मक भनेका छन् ।

कुनैपनि नेताको कोटको खल्तीबाट टिके शैलीमा आफ्ना परिवार र गूटका व्यक्तिको नामझिकेर नेतृत्व सुम्पिने गलत प्रथाको अन्त्य हुने आशाको दीयो विद्यार्थीहरुले सल्काएका छन् । यो अभ्यासले माउ पार्टी माओवादी केन्द्र र अन्यभ्रातृ संगठनहरुलाई पनि लोकतान्त्रिक प्रक्रिया (निर्वाचन) लागू गर्न दवाब दिने विश्वास गरिएको छ । नेकपा (माओवादी केन्द्र) मा तीन दशकभन्दा बढि समयदेखि पुष्पकमल दाहाल (प्रचण्ड)ले उत्तराधिकारी नभएको बताउँदै अध्यक्ष पद छाडेका छैनन् ।

अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद राख्ने वा नराख्ने भन्ने प्रस्तावमा ७७ जिल्ला र गैरभौगोलिकसहित ८६ मतदान केन्द्रमा गत शनिबर मतदान भएको थियो । मतदानमा सहभागीमध्ये नौ सय उमेरहद लगाउनु पर्छ भन्नेमा देखिए । आठ सय ७९ ले उमेरहद लगाउनु हुँदैन भन्नेमा मतदान गरे ।  उमेरहद लगाउनु हुँदैन भन्ने पक्षमा अधिकांश नेताले आफ्ना छोराछोरी र गुटका केही कार्यकर्तामार्फत् लबिङ गरेका थिए । निर्वाचन परिणाम यसको विपरीत आउने संकेत पाएपछि मत परिणाम सार्वजनिक गर्ने कार्यक्रम केहीबेर रोकियो । 

यसका लागि अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पार्टी पदाधिकारी बैठक नै डाक्नुपर्यो । पदाधिकारी बैठकले मत परिणाम जस्तो आए पनि त्यसलाई स्वीकार गरेर जानुपर्ने निर्णय गरेपछि पक्ष र विपक्षमा खसेको मत सार्वजनिक गर्न निर्वाचन समिति बाध्य भएको होे । कतिपय बौद्विकहरुले संगठनभित्र वैचारिक पक्ष कमजोर भएपछि एजेण्डा र विचारमा बहस नभएर उमेर जस्तो प्रविधिक विषयमा विवाद गरिएको व्यङ्ग्य कसेका छन् ।

उमेरहदको निर्णयसँगै अब अखिल (क्रान्तिकारी) मा नेतृत्वका लागि उमेर सीमा प्रावधान लागू भएको छ । यसले संगठनभित्र नयाँ पुस्ताको नेतृत्वलाई अवसर प्रदानगर्ने विश्वास गरिएको छ । यो निर्णयले कलेज भर्ना भएर विद्यार्थी बन्नु नपर्ने तर विद्यार्थी संगठनको नेतृत्व भने ओगटिरहने प्रवृत्ति पराजित भएको छ । साथै विद्यार्थी नेतृत्वमा भइरहेको जामलाई खुलाउने कामपनिउमेरहदको निर्णयले गर्ने छ । 

उमेरहद राख्नुपर्ने तर्कलाई पञ्छाउन नसक्ने, उमेर हद राख्दा लामो समयदेखि संगठनमा रहेका नेताहरु बाहिरिने परिस्थितिका कारण यो विषय निकै जटिल बनेको थियो । उमेरहद लागु हुँदा निवर्तमान महासचिव दिपेश पुन नेतृत्व होडबाट बाहिरिने पक्कापक्की छ । उनीसँगै उपाध्यक्षहरू सबै बिदा हुनेछन् । ३२ वर्ष नाघेकाले कमिटीबाट बाहिरिनुपर्नेमा उपाध्यक्षहरू इन्द्र भुसाल, नरेश रेग्मी, पवन कार्की, मदन भूल, मदन भट्टराई, नारायण खनाल, जीपी मैनाली, क्षितिज सापकोटा, केशव रावल, अच्यूत भट्ट, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीणा अधिकारी, सूर्यनारायण साह, गजेन्द्र देव हुन् । नयाँ परिस्थितिमा केन्द्रीय अध्यक्ष पदमा निवर्तमान कमिटीका उपमहासचिव वा त्योभन्दा तल्लो वरियताका नेताहरूबीच प्रतिस्पर्धा हुनेछ । उपमहासचिवहरू सुरजसिंह ठकुरी, नारायण बडाल, सुदिन पौडेल, योगेन्द्र बुढा र पार्वती नेगी अध्यक्षमा आकांक्षी देखिएका छन् । त्योभन्दा मुनिका वरियताका हेमन्त राई, रोशन थापामगर, राजेन्द्र विष्ट, तिर्सना हमाललगायत पनि अध्यक्ष पदका आकांक्षी रहेको बताइन्छ ।

यी दुई सम्भावनाकै कारण उमेर हदको प्रस्ताव अखिल क्रान्तिकारीमा पेचिलो बन्यो, जसलाई टुंग्याउन देशभरका प्रतिनिधिबाट मतदानको विकल्प रोजियो ।

कुनै पनि राजनीतिक पार्टीका भ्रातृ संगठनहरुमध्ये पत्रकार र विद्यार्थी संगठनलाई बौद्धिक तथा अध्ययनशील संगठनका रुपमा हेर्ने गरिन्छ । ती संगठनले आफ्नो माऊ पार्टीका नेताहरुलाईसमेत मार्गनिर्देशन गर्न सक्छन् भनिन्छ । तर, माओवादीको प्रेस सेन्टरमा भने त्यस्तो अवस्था देखिँदैन । सेन्टरका केन्द्रीय अध्यक्ष र अधिकांश पदाधिकारी कुनै न कुनै नेता वा गुटका खल्तीबाट टपक्क टिपेर पदमा राख्ने गरिएको छ ।

तीन वर्षअघि चितवनमा सम्पन्न प्रेस सेन्टरको चौथो अधिवेशनको क्रममा हलबाट नेतृत्व चयन हुनुपर्छ भन्ने आवाज उठ्यो । त्यसलाई दबाउँदै प्रचण्डले नै जुगललाई अध्यक्ष बनाउन चाहेपछि अबिर दलेर खादा पहिराइदिएका थिए । पत्रकारिता कर्मभन्दा कोशौं टाढाको व्यक्तिलाई प्रेस सेन्टरको अध्यक्ष र केही पदाधिकारी जबर्जस्ती बनाउँदा संगठन प्रचण्डको व्यक्तिगत क्लब जस्तै हुन पुग्यो । 

अदूरदर्शी केन्द्रीय नेतृत्व पत्रकारिता पेशालाई लत्याउँदै जग्गा दलाली, कसैको पिए, विज्ञापन एजेन्सी सञ्चालक, ठेक्क पट्टा, दलाली, आदिमालाग्दा संगठनका सदस्यहरु माउबिनाको चल्लाझैँ बनेका छन् । बौद्धिक र अध्ययनशील भनिएको पत्रकारितालाई प्रेस सेन्टरको वर्तमान केन्द्रीय नेतृत्वले खुमलटारमा लगेर बुझाउँदा दुनियाँ चकित परेको छ । हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय पदाधिकारीमा पराजित हुनु यसैको परिणाम भएको सेन्टरका नेताहरु स्वयम् बताइरहेका छन् ।

आगामी माघ १५ गते सेन्टरको पाँचौ महाधिवेशन हुँदैछ । यसपटक विधि, पद्धतिको पालना गर्दै प्रश्न गर्नसक्ने तथा गलत नेतृत्वको समेत टुप्पीमा राँको सल्काउन सक्ने हिम्मत भएको नेतृत्व चयन गर्न जरुरी छ । अखिल क्रान्तिकारीबाट सुरु भएको अग्रगामी कार्यलाई प्रेस सेन्टरले पनि पछ्याउन जरुरी छ । अब प्रेस सेन्टर टिके शैलीबाट चल्दैन । यसका लागि मतदान गर्न ढिला भइसकेको छ । कम्तीमा यसपटक प्रचण्डले प्रेस सेन्टरको नेतृत्व चयनमा अनावश्यक हस्तक्षेप नगरुन् । 

टिप्पणीहरू