वामदेव एसमा मिसिने पक्का,रावलको निधो माधवले गर्ने
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री,वामपन्थी नेता तथा राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू नेतृत्वको 'नेकपा एकता अभियान' एकीकृत समाजवादीमा समाहित हुने करिब-करिब पक्का भएको बताएका छन् ।
आज दिउँसो आलोकनगरस्थित नेकपा एसको मुख्यालयमा अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका गौतमले यस्तो जानकारी दिएका हुन् । पार्टी एकताको विषयमा मोटामोटी सहमति भएको र चाँडै आधिकारिक निर्णय गर्ने गौतमको भनाई छ ।
आजको छलफल निकै सकारात्मक भएको जनाउँदै उनले भने, ‘माधवजी र म एकजुट हुने भइयो । एकताका लागि दुवै पार्टीबीच समझदारी गरेर जाने सहमति भएको छ ।’
हालै एमालेबाट निकालिएका डा. भीमबहादुर रावललाई पनि समेट्नेबारे सोधिएको प्रश्नमा भने गौतमले माधव नेपाललाई थाहा हुने जवाफ दिएका छन् । 'उहाँलाई के गर्नु हुन्छ नि ?' पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो मलाई थाहा छैन । गरे पनि माधवजीले गर्नुहोला ।’
संयोग कस्तो भने, एकीकृत समाजवादीको मुख्यालयमा अध्यक्ष नेपाल र गौतमबीच भेटवार्ता चलिरहँदा थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा रावलले पत्रकार सम्मेलन गरिरहेका थिए । पूर्वएमाले यी तीनै जना अध्यक्ष तथा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको चेपुवामा परेर बाहिरिएका नेता हुन् ।
टिप्पणीहरू