सहयोगीमा महिला राख्न अनिवार्य
महिला कानुन व्यवसायीको पुष १३ र १४ गते विराटनगरमा सम्पन्न राष्ट्रिय भेलाबाट वरिष्ठ अधिवक्ताले अनिवार्य एक जना महिला कानुन व्यवसायीलाई सहयोगी राख्नैपर्ने प्रस्ताव पारित भएको छ ।
बार काउन्सिल विधानमा वरिष्ठ अधिवक्ताले एकजना सहयोगी राख्नुपर्ने नियम रहे पनि महिला भनेर किटान गरिएको छैन । अधिकांश वरिष्ठले एक जना पुरुष सहयोगीसमेत राखेका छैनन् । मुद्दाका मिसिल, नजिर, रेफ्रेन्स बुक, कागजात संलग्न झोला वरिष्ठले आफै बोकेर बहसमा जाने गरेका छन् । यस्तो अवस्थामा महिला अनिबार्यताको नयाँ माग थपिएको हो ।
भेलाले बार एशोसिएसनमा अध्यक्ष र महासचिवमध्ये एक जना महिला अनिवार्य हुने गरी विधान फेर्न भनेको छ । स्थानीय तहको न्यायिक समितिमा एकजना महिला कानुन अधिकृत अनिवार्य राखिनुपर्ने माग पनि छ ।
न्यायाधीश नियुक्तिमा महिला सहभागिता बढाउनुपर्ने, महान्यायाधिवक्ताको नियुक्तिमा महिलाले स्थान पाउनुपर्ने, आमाको नामबाट नागरिकता पाउने स्पष्ट अधिकार सुनिश्चित गर्नुपर्नेलगायत प्रस्ताव पारित भएको छ । भेलाले सरोगेसीसम्बन्धी कानुनको समेत माग गरेको छ । सम्मेलनमा देशभरबाट एक हजारभन्दा बढी कानुन व्यवसायी महिला सहभागी थिए ।
टिप्पणीहरू