रमणीय कालिञ्चोक (फोटोफिचर)
कालिञ्चोक भगवती दोलखा जिल्लाको उत्तरी भेगमा अवस्थित धार्मिक एवम् पर्यटकीयस्थल हो । यो मन्दिर धार्मिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । विशेषगरी पुस, माघ र फागुनमा हिउँ पर्ने भएकाले कालिञ्चोक वरपरको सौन्दर्य थप मनोरम हुने गरेको छ । यहाँको प्राकृतिक रमणीय दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।
गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षयता कालिञ्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थस्थलको रूपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट तीन हजार ८ सय ४२ मिटर उचाईमा रहेको यो क्षेत्रलाई दुई नदी सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको छ ।
कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती मन्दिर नै हो । कालिञ्चोकमा सबैभन्दा उच्च विन्दुमा रहेको ठाडो पहाडमाथि भगवतीको मन्दिर छ । त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो । यो ठाउँमा लेक लाग्ने भएकाले यात्रुहरु पहिले नै तयारी भएर जानुपर्छ ।
किंवदन्तीअनुसार जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ । मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान रहेको पुजारीहरु बताउँछन् ।
केही वर्षदेखि सञ्चालनमा आएको केबलकारको सुविधाले अब भने भगवतीको दर्शन गर्न हिँड्नुपर्ने बाध्यता पनि हटेको छ । कुरी बजारबाट करिब एक घण्टाको पैदल दूरीमा रहेको भगवतीको मन्दिर अहिले केबलकारमा सजिलै पुग्न सकिन्छ ।
तस्बिरहरु
टिप्पणीहरू