स्वकीय सचिवविरुद्ध परमादेशपछि पुर्जी जारी, खोज्दै प्रहरी
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका तत्कालीन स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिललाई पक्राउ गरेर अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
पक्राउ पुर्जी जारी भएको जनाउँदै अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले भने, ‘उहाँविरुद्ध ठगी मुद्दामा आज पक्राउ पुर्जी जारी भएको छ ।’ अनिलविरुद्ध स्थानीय बौआलाल चौधरीले उच्च अदालत, विराटनगरमा ठगी मुद्दा दायर गरेका थिए । छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टलमा बस्ने व्यवस्था मिलाइदिन्छु भन्दै पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ लिएको तर एमबीबीएसमा नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा धम्की दिएको बौआलालले अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ ।
उच्चका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले उनीमाथि अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । त्यसपछि गत शुक्रबार सभापति ऋषिकेशले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका हुन् ।
टिप्पणीहरू