पक्राउपछि अस्पतालमा बस्दै आएका पूर्वमेयर जेल चलान
घरायसी काम सघाउन राखिएकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जेल चलान भएका छन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
आज भएको थुनछेक बहसपछि न्यायाधीश जोशीको इजलासले पूर्वमेयर शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको पीडितको आफन्त मेघनाथ पाठकले बताए । आठ वर्षको उमेरदेखि उनको घरमा घरेलु कामदारको रुपमा बसेकी पीडित बालिका हाल आफन्त नेपाल नामक संस्थाको संरक्षणमा छिन् ।
शिवाकोटीले तीन वर्षदेखि पटकपटक बलात्कार गरेको पीडितले बताएकी छन् । गत मंसिर २४ गते समातिएका शिवाकोटी पक्राउ परेदेखि नै अस्पतालमा बसेका थिए । उनको पक्षले धम्क्याएपछि पीडितका आफन्तले सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
टिप्पणीहरू