बालेनका मान्छे भीम रावलबाट टाढै
नेकपा एमालेबाट निकालिएपछि गैरकम्युनिष्ट पार्टी खोल्ने तरखरमा रहेको भनिएका डाक्टर भीमबहादुर रावल यतिबेला देश दौडाहामा छन् । कोशी प्रदेशबाट 'मातृभूमि जागरण अभियान' शुरु गरेका उनी छ महिनापछि दल दर्ता गर्ने योजनामा रहेको बताइएको छ ।
यस क्रममा नेतृत्वसँग असन्तुष्ट एमालेलगायत विभिन्न पार्टीका नेता-कार्यकर्तासँग रावलको भेटघाट चलिरहेको छ । विपी कांग्रेसका नेता डडेल्धुराका कर्णबहादुर मल्लहरुले रावललाई साथ दिने संकेत पनि गरिसकेका छन् । यसबाहेक आफूलाई राजावादी अभियन्ता भनाउँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत स्वतन्त्र व्यक्तिहरुसँग पनि रावल विभिन्न ढंगले सम्पर्कमा रहेको बुझिएको छ ।
सामाजिक सञ्जालका चर्चित अनुहारलाई समेटेर बलियो पार्टी बनाउने योजनाअन्तर्गत काठमाडौँ महानगरका मेयर बालेन्द्र उर्फ बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ग राईसँग पनि रावलका मान्छे संवादमा रहेको खबर बाहिरिएको छ ।
सम्वद्ध स्रोतका अनुसार गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई चुनाव जितेकाहरुसँग समन्वय गरेर अघि बढ्ने वातावरण तयार गर्न रावलले केही व्यक्तिलाई जिम्मेवारी तोकेका छन् । सोहीमुताविक हर्क र बालेन्द्रसँग प्रथम चरणको संवाद भैसकेको छ । धनगढीका मेयर गोपी हमालसँग सम्पर्कको प्रयास चलिरहेको स्रोतको भनाई छ ।
धरानका हर्कले भने ‘भेटेर छलफल गर्न सकिन्छ’ भनी टारेको जनाइएको छ । सामाजिक सञ्जालमा 'लोकप्रियता कमाएका' काठमाडौँका मेयर बालेन्द्रले भने रावलका मान्छेलाई 'बाल नदिएको' बताइएको छ ।
बताइएअनुसार बालेनको 'कोर टिम'का सदस्यहरुसँग मिलेर जाने प्रस्ताव राख्दा 'मेयर सा'प अमेरिकाबाट डोनाल्ड ट्रम्प नै आए पनि मिल्ने पक्षमा हुनुहुन्न' भनी लत्याएका थिए । ‘बालेनका मान्छेले कोहीसँग नमिल्ने,आफैं नयाँ योजना बनाइरहेको र ०८४ निर्वाचनमा पनि योजनाअनुरुप नै जाने कुरा गर्नुभयो’, रावल सम्वद्ध स्रोतले खुलायो।
टिप्पणीहरू