‘तिम्रो वक्षस्थल सिन्धुलीको जुनारजस्तो !’

‘तिम्रो वक्षस्थल सिन्धुलीको जुनारजस्तो !’
सुन्नुहोस्

अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फेरि एकपटक रोमान्टिक अवतारमा देखिएका छन् । यसअघि ‘डिग्री माइला’मा स्क्रिन शेयर गरेको यो जोडी अभिनित चलचित्र ‘दुखी आत्मा’ को टिजर सार्वजनिक भएको छ । 

सवा तीन मिनेटको टिजरमा दया र आँचलको रोमान्सले प्राथमिकता पाएको देखिन्छ । जहाँ दया एक कविको भूमिकामा देखिएका छन् भने आँचल तन्नेरी युवतीको । 

‘एडल्ट ड्रामा’ जनराको यस चलचित्रमा अनुपविक्रम शाहीको पनि अभिनय छ । उनी दयाँको साथीको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । 

आगामी फागुन २ (भ्यालेनटाइन डे)को दिन रिलिज हुने यस चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चर्चित कवि श्रवण मुकारुङले चलचित्रको संवादमा सहयोग गरेका छन् । यसकारण सार्वजनिक टिजरमा पनि अधिकांश संवाद बिम्बात्मक सुनिन्छ । 

दया (कवि) र आँचल (प्रेमिका)बीच भएको एउटा राेचक यौन मनोवैज्ञानिक संवाद यस्तो छ :

प्रेमिका- मेरो खुट्टा कस्तो छ ? 

कवि- एकदम मुलायम, कमलको फूलजस्तै । 
प्रेमिका- मेरो घुँडा ?
कवि- घोप्टो परेको कचौराजस्तो, क्युट ! 
प्रेमिका- मेरो थाइ (साप्रा) नि ?
कवि- एकदम कसिलो, बकुल्लाको फिलाजस्तो । 
प्रेमिका- अनि कम्मर ? 
कवि- साँघुरो गाग्रीको घाँटीजस्तो । 
प्रेमिका- मेरो काँध ? 
कवि- सुगाको जस्तो बान्की परेको ।
प्रेमिका- अनि छाती ?
कवि- सिन्धुलीको जुनारजस्तो ।
प्रेमिका- यसलाई के भन्छन् ?
कवि- वक्षस्थल !

टिप्पणीहरू