गगन थापा आफ्नै कमाइबाट खुशी हुने अवस्था बनाउन लागिपर्दै
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन् । महामन्त्री थापाले भने, ‘नेपालको अहिलेको सबैभन्दा ठूलो पोलिटिकल एजेण्डा भनेको हाम्रा नौजवानहरुले नेपालमै बस्नसक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुशी हुनेगरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा हो ।’
यो एजेण्डा कार्यान्वयन गराउन प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवासँग पनि आफूले कुरा गरिरहेको उनले जानकारी दिए । भित्रि छलफलमा राजनीतिक कुरा गर्ने तर बाहिर रोजगारीको विषय उठाउने दोहोरो भूमिका आफूले नखेलेको थापाले दावी गरे ।
‘म रोजगारीको यो छलफललाई प्रधानमन्त्रीको कोठामा पुर्याउन चाहन्छु । मैले कोशिस गरिरहेको छु । म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो विषय पुर्याउन चाहन्छु’, उनले भने, ‘त्यहाँ राजनीतिको र यहाँ आएपछि रोजगारीको कुरा गर्ने होइन, त्यही कोठामा कुरा हुनुपर्छ । त्यो कोठमा कुरा हुनुपर्छ ।’
देशमा पाएको रोजगारीले खुशीसाथ बस्न सक्छु भन्ने वातावरण बनाउनसके मात्रै युवा पलायन रोकिने थापाको विश्वास छ ।
टिप्पणीहरू