काठमाण्डौमा रविको बयान सकिनेबित्तिकै थुनछेक बहस थालिने

काठमाण्डौमा रविको बयान सकिनेबित्तिकै थुनछेक बहस थालिने
सुन्नुहोस्

स्वर्णलक्ष्मी सहकारी घोटालामा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छोड्ने कि थुन्ने भन्ने विषयमा केही बेरमै बहस शुरु हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास नम्बर ६ मा चलिरहेको बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । 

पोखराको सूर्यदर्शन सहकारी ठगीमा रविको पक्षबाट वकालत गरेका जम्मै अधिवक्ता बहसका लागि अदालतमा उपस्थित भएका छन् । ‘अहिले बयान चलिरहेको छ । लञ्च ब्रेकपछि थुनछेक बहस शुरु हुन्छ । पोखरामा रविको पक्षबाट बहस गरेकाहरु सबै उपस्थित छन्’,स्रोतले भन्यो । 

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले जिबी राई,छविलाल बञ्जाडे जोशी र रविसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसूरमा मुद्दा दायर गरेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार पोखराबाट छुटेका रविले शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जनाएका थिए । तर, सडकमार्ग हुँदै आएका उनी शुक्रबार अदालत पुग्न भ्याएनन् ।  

हिजो शनिबार परेकाले आज बिहान आफैं अदालतमा उपस्थित भएका हुन् ।  स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा : र सञ्चालक समिति सदस्य कमल लामालाई अदालतले धरौटीमा छोडेको छ ।

टिप्पणीहरू