आलोचकलाई प्रधानमन्त्रीको प्रतिप्रश्न : राति काम गर्न हुँदैन ?
प्रधानमन्त्री केपी शर्मा ओलीले राति अध्यादेश जारी गर्ने सरकारको निर्णयको विरोध भएकोमा चित्त दुखाउनुभएको छ ।
मध्यराति अध्यादेश ल्याउने सरकारको कदमलाई ‘देश र जनताका पक्षमा दिन–रात नभनी काम गरेको’ रुपमा अथ्र्याउँदै उहाँले चित्त दुखाउनु भएको हो । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा ओलीले भन्नुभयो, ‘हामी १०–५ को जागिर खान आएका होइनौं । देश र जनताप्रतिको जिम्मेवारीवोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’
त्यसक्रममा उहाँले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर अनर्गल प्रचार गरिएको पनि बताउनुभयो । राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्नुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीको दाबी छ ।
‘मैले दल फुटाउन अध्यादेश ल्याएको होइन । त्यो अध्यादेश मध्यरातमा जारी गरियो भनेर पनि हल्ला गरियो । अध्यादेश त हामीले दिउँसै तयार गरेको हौँ’, उहाँको भनाई छ । पछिल्लो समय सामाजिक सञ्जालबाट अराजकता फैलाउने काम बढेको बताउँदै कानुन बनाएर त्यस्तो कार्य रोक्नुपर्नेमा जोडसमेत दिनुभयो । आफूविरुद्ध स्वीस बैंकमा पैसा राखेको भन्ने गलत प्रचार गरिएको बताउँदै ओलीले त्यसको पुष्टि गर्न चुनौती दिनुभएको छ ।
टिप्पणीहरू