राष्ट्रपतिले रोकेको अध्यादेश आजै जारी हुने प्रधानमन्त्रीको ठोकुवा

राष्ट्रपतिले रोकेको अध्यादेश आजै जारी हुने प्रधानमन्त्रीको ठोकुवा

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमीसम्बन्धी अध्यादेश जारी हुने ठोकुवा गर्नुभएको छ । बालुवाटारमा आज बिहान उद्योगीहरुसँग छलफल गर्दै उहाँले राष्ट्रपतिले ‘होल्ड’मा राखेको अध्यादेश आज आउने दावी गर्नुभएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा पुष २९ गते चार अध्यादेश जारी गर्दै भूमीसम्बन्धी अध्यादेशलाई रोक्नुभएको थियो । सो अध्यादेशको सम्बन्धमा अध्ययन गर्न बाँकी रहेको कारण रोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

तर, प्रधानमन्त्री ओलीले भने दावी गर्दै भन्नुभयो, ‘आज भूमिसम्बन्धी अध्यादेश आउँदै छ । यसले भूमिसम्बन्धी नसुल्झिएका समस्याहरू छन्, ती सुल्झाउछ ।’

भूमिसम्बन्धी अस्तव्यस्त नीतिहरुलाई सरकारले ‘करेक्सन’ गरिरहेको पनि प्रधानमन्त्रीको जिकिर छ । उहाँले थप्नुभयो,  ‘सरकारले पहिला आफैँ जमिन किन्न दिन्छ, हाउजिङ गर्न दिन्छ, प्रशस्त घर बनाउन दिन्छ, अनि बनाइसकेपछि हदभन्दा बढी जग्गा किनेछौ बेच्न त पाइँदैन भन्छ।’

छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी हुनुहुन्थ्यो । उद्योगीतर्फबाट उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिससंका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासघंका अध्यक्ष भगीरथ सापकोटालगायतको उपस्थिति थियो ।

टिप्पणीहरू