काँग्रेसका मन्त्रीहरु हप्तामा दुई दिन सानेपा पुग्नैपर्ने
सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी मन्त्रीहरुलाई हप्ताको दुई दिन अनिवार्य पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको मन्त्री र संसदीय दलको संयुक्त बैठकले कार्यकर्ता र जनताको गुनासोलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने निष्कर्षसहित त्यस्तो निर्देशन दिएको हो । बैठकको निर्णयबारे जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले भने, ‘मन्त्रीहरू अब सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपामा पनि पुग्नुहुनेछ, त्यहाँ नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुनेछ, गुनासाहरू सुन्नु हुनेछ ।’
दुई दलको आपसी सहमतिबाटै सरकारका कामकारवाही अघि बढिरहेको पनि उनको जिकिर छ । कतिपयले कांग्रेस र एमालेबीच दरार आएको भन्ने हल्ला फैलाइरहेको भन्दै उनले भने, ‘हाम्रो बीचमा कुनै समस्या छैन । दुई दल सम्मिलित सरकारमा कुनै बाधा, व्यवधान र अफ्ठ्याराहरु छैनन् । आफ्ना मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्ने कुरामा छलफल भएको छ ।’
बैठकले संसदीय दलको अनुशासन समिति गठन गर्ने निर्णय पनि गरेको छ । समितिको अध्यक्ष दिलेन्द्रप्रसाद बडुलाई तोकिएको छ ।
टिप्पणीहरू