वकिल कुट्नेमाथि कडा कारबाहीको माग
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अदालत परिसरमै कुटिएको घटनाप्रति न्यायका लागि मानव अधिकारले आपत्ति जनाएको छ । पेशागत काम र कर्तव्य पालनाको क्रममा कानुन व्यवसायीमाथि आक्रमण हुनु स्वतन्त्र न्यायपालिकाको उपहास भएको उल्लेख गर्दै संगठनले उक्त घटनाको घोर निन्दा गरेको छ ।
संगठनका सदस्य सचिव बद्रीप्रसाद भुसालले कानुन व्यवसायीमाथि आक्रमण सिंगो न्याय प्रशासनमाथिको प्रहार भएको बताएका छन् । ‘न्यायिक निरुपणको सन्दर्भमा कानुन व्यवसायीको पेशागत काम र कर्तव्यको पालन गरी न्यायपालिकाप्रति सम्मान राख्दै अदालतसमक्ष मुद्दामा पीडित पक्षको प्रतिनिधित्व गर्दा न्यायालयभित्रै कानुन व्यवसायीमाथि हातपात हुनु भनेको कानुनी शासन, मानव अधिकार र स्वतन्त्र न्यायापालिकाविरुद्ध नै उपहास हुनु हो’, आज जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो घटना लोकतान्त्रिक चरित्रविपरीतका अपराधिक कार्य भई सिंगो न्याय प्रशासनमाथिको आक्रमण हो ।’
संगठनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जाहेरकर्ताको तर्फबाट हिजो बहस सकेर बाहिर निस्किने क्रममा त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिवादी रहेको सहकारी ठगीको मुद्दामा पीडितको तर्फबाट वकालत गरैकै आधारमा आफूमाथि कुटपिट भएको उनको भनाइ छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीमाथि कुटपिट गरेको आरोपमा दोलखाका ललित केसीलाई पक्राउपछि अनुसन्धान भइरहेको जनाएको छ ।
टिप्पणीहरू