जग्गाको लोभमा फुपूको हत्या

जग्गाको लोभमा फुपूको हत्या
सुन्नुहोस्

नेपाली चलनचल्तीको उखान नै छ – ‘लोभले लाभ,लाभले विलाप ।’ रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड नं. ७ का ब्रह्मदेव कुर्मीलाई लोभले बिलापमा पुर्याएको छ । केही बर्षपछि आफ्नै हुने सम्पत्तिको तत्कालै लोभ लागेर फुपू दिदीलाई क्रुर हत्या गरेका रुपन्देहीको मायादेवीका ब्रह्मदेव कुर्मी समातिएका छन् । योजनाबद्ध ढंगबाट निकै चलाखीपूर्ण तरिकाले भारत लगी नातामा फुपू पर्ने ४३ बर्षिया चन्दरा रानी कुर्मीको हत्या गरेका ब्रह्मदेव चार महिनापछि पक्राउ परेका हुन् ।

ब्रह्मदेवले चन्दरा रानीबाट मायादेवी गाउँपालिका वार्ड नं. ७ बैरिहवाको १ बिगाहा १६ कठ्ठा जग्गा शेषपछिको बकसपत्र पाएका थिए । ४३ बर्षिया चन्दरा रानीको मृत्युपछि उनकै एकलौटी हुने जमिन समय बित्दै जाँदा बकसपत्र बदर हुन सक्ने डरले हत्याको योजना बनाएको र चन्दरा रानी कुर्मीलाई हत्या गरी जग्गा तत्कालै हत्याउन खोज्दा ३१ बर्षिय बह्मदेवको अपराध छिप्न सकेन । रुपन्देही प्रहरीले उनलाई कर्तब्य ज्यान मुद्धा चलाउने तयारी गरिरहेको छ ।

आफू एक्लै र अंश खाने हकवाला अरु नभएपछि चन्दरा रानीले भाइ पर्ने ब्रह्मदेवलाई २०८० भदौ १८ मा मालपोत कार्यालयमा गएर शेषपछिको बकसपत्र गरिदिएकी थिइन् । शेषपछिसम्म कुर्नभन्दा अहिल्यै मारेर सम्पति हात पार्ने लोभ जाग्यो । जब लोभको भाँडो बढ्दै गयो,गाउँकै अर्को एकजनाको सहयोग लिए,चन्दरालाई मारेर आधा आधा जग्गा बाँड्ने सहमति गरे ।

शेषपछिसम्म कुर्नभन्दा अहिल्यै मारेर सम्पति हात पार्ने लोभ जाग्यो । जब लोभको भाँडो बढ्दै गयो, उनले गाउँकै अर्को एकजनाको सहयोग लिए, चन्दरालाई मारेर आधा आधा जग्गा बाँड्ने सहमति गरे । 

घटना गत भदौको हो । भदौ १७ गते गोरखपुर हुँदै एक जना मुन्सी (व्यापारीको हिसाव किताव राख्ने मानिस) को घर जान भनेर चन्दरालाई टेम्पो चढाई बनकसियामा ओराले । सडकमा गुड्ने ट्रकको मुनि धकेली किचेर मार्ने  योजना थियो । प्रहरीमा अभियुक्त ब्रह्मदेवले दिएको बयानअनुसार २० मीनेट कुर्दा पनि ट्रक लगायत ठूला गाडी आएनन् । एउटा सेतो कारमा उनले साथीसँग मिलेर फुपू दिदीलाई धकेलिदिए र दुवै जना भागे । केही बेरपछि मरिन् कि मरिनन् भनेर बुझ्न आउँदा चन्दरा रानी सडकमा लडिरहेकी थिइन् । ‘अलि अलि सास थियो,घाँटी अँठ्याएर मारिदियौं र लाश सडक किनारमै छाडेर हिड्यौं भन्ने बयान दिएका छन्’ – प्रहरी नायव उपरिक्षक सुरज कार्की भन्छन् ।

यता गाउँकै राममिलन कुर्मीले भतिजी नाता पर्ने चन्दरा रानी कुर्मी हराएको भनेर भदौ १६ मा जिल्ला प्रहरी कार्यालयमा खोजतलासको निवेदन दिएका थिए । उता भारतको पुलिस अधिक्षक सन्तकबिरनगर उत्तरप्रदेशले लछारपछार भएको बेवारिसे लाश भेटाएको सूचना जारी गरेको थियो । त्यही सूचना र त्यसमा उल्लेखित हुलिया मिलेपछि प्रहरी निगरानीमा रहेका ब्रह्मदेव समातिए । उनी समातिएको थाहा पाउनासाथ आधा जग्गा खाने भनेर हत्यामा संलग्न भएका अर्का सहयोगी भने फरार भएका छन् ।

भारतमा लाश पहिचान भएपछि त्यसलाई बुझ्ने, दाहसंस्कारलगायतका काम पनि भए । हत्याको पोल खुल्दैन भनेर ढुक्क भएका ब्रह्मदेव मृत्यु दर्ता बनाई जग्गा हत्याउने योजनामै थिए । तर छिमेकीहरुको जाहेरी र प्रहरीको अनुसन्धानले अपराध छिप्न सकेन । भारतको गाउँमा लगेर मारेपछि कसैले चिन्दैन बनेर चलाखीपूर्ण अपराध गर्दा पनि सत्य लुक्न नसकेपछि उनका छिमेकी घनश्याम कुर्मीले भने – ‘पाप धुरीबाट करायो ।’

टिप्पणीहरू