प्रचण्डलाई भावुक बनाउने पूर्वकमाण्डरको प्रस्तुति

प्रचण्डलाई भावुक बनाउने पूर्वकमाण्डरको प्रस्तुति
सुन्नुहोस्

आफ्ना मतदातालाई धन्यवाद दिन आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एकाएक भावुक ! यो दृश्य हो मोरङको ग्रामथान गाउँपालिकामा हिजो भएको सभाको । गत मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा माअ‍ोवादीको उम्मेदवारलाई जिताएको खुशीयालीमा हिजो धुमधामसँग कार्यक्रम भएको थियो । विभिन्न झाँकी, बाजागाजा, नाँचगानसहित आयोजित सभामा मोरङका पार्टी ईन्चार्ज कुशल लिम्बु (शाम्बा) ले पूर्व लडाकुको भेषमा प्रस्तुति दिएका थिए । 

खुकुरी नचाउँदै जनमुक्ति सेनाको झल्को दिने खालको अभिनय प्रस्तुत गरेपछि प्रचण्ड भावुक बनेका हुन् । ‘म मरे भने साथी हो’ बोलको गीतमा रगतले लत्पतिएको घाइते सेनाको अभिनय गरेका उनको नृत्य निकै कारुणिक थियो । आफैं पूर्वजनमुक्ति सेनाको लडाकु कमाण्डर रहेका लिम्बुको उक्त नृत्यले प्रचण्डलाई मात्र होइन्, सचिव सितल कुमार, प्रदेशसचिव सह–ईन्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष हर्क नेम्वाङ्ग, पूर्वमन्त्री ईन्द्रबहादुर आङ्बोलगायतलाई भावविहल बनायो । 

जनयुद्धको इतिहास सम्झाउने उक्त नृत्यको प्रशंसा गर्दै उपस्थितहरुले राजनीतिक परिवर्तनमा हजारौं उत्पीडन समुदायको त्याग र बलिदान सम्झिए । ईन्चार्ज लिम्बुको जनयुद्धकालीन अभिनयको तारिफ गर्दै मोरङ क्षेत्र नम्बर ६ (१) का प्रदेश सांसद तथा केन्द्रीय सदस्य जीवन आचार्यले माओवादी आन्दोलनको गर्विलो इतिहास बुझाउने नृत्य गरेकोमा धन्यवाद दिएका छन् । 

‘प्रिय कमरेड कुशल ! आजको तपाईंको बेजोड प्रस्तुतिमा जनताको भावुकताले पक्कै पनि सुनौंलो भविष्यको संकेत गरेको आभाष भएको छ’,उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आजको पुस्तालाई माओवादी आन्दोलनको गर्विलो इतिहास बुझाउने गरी गर्नुभएको अभिनयका लागि धेरै धेरै धन्यवाद !’

हाल माओवादीको केन्द्रीय सदस्यसमेत रहेका जिल्ला ईन्चार्ज लिम्बु मोरङको टाँडी निवासी हुन् । उनी जनयुद्धकालमा होलटाइमर लडाकु कमाण्डर थिए ।
 

टिप्पणीहरू