वकिलको कठालो समाउनेमध्ये एक झापाली महिला
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । झापाको बुद्धशान्ति गाउँपालिका घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षीया शितल राईलाई पक्रेर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
उनीसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछानेलाई पूर्पक्षमा पठाउन माग गर्दै बहस गरेका त्रिपाठीमाथि गत बुधबार अपरान्ह काठमाडौँ जिल्ला अदालत परिसरमै हातपात भएको थियो । उनीमथि हातपात गर्नेहरु रास्वपा कार्यकर्ता भएको बताइन्छ ।
त्रिपाठीलाई कुटपिट गरेको आरोपमा यसअघि महेन्द्र पाण्डे र ललित केसी पक्राउ परिसकेका छन् । पक्राउ परेका उनीहरुलाई पनि प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
उक्त घटनाको विरुद्ध कानुन व्यवसायीहरुको विभिन्न संगठनले निन्दा गरेका छन् । हिजो सर्वोच्च अदालत बार एसोएिसनले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम राखेको थियो ।
टिप्पणीहरू