शहरमा बस्दै आएका अध्यक्षको मन गाउँघरतिर

शहरमा बस्दै आएका अध्यक्षको मन गाउँघरतिर

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय विभिन्न जिल्लाको भ्रमणमा व्यस्त हुनुभएको छ । उहाँको सचिवालयका अनुसार अध्यक्ष स्थानीय तहका नेता तथा कार्यकर्ताहरुसँगको साक्षत्कारमा रमाइरहनुभएको छ । 

प्रचण्डले केही दिनदेखि विभिन्न जिल्लाका स्थानीय युवाहरुसँग मर्निङ वाकदेखि वृद्धवृद्धासँग बसेर पुराना क्षणको सम्झना गर्नुभएको छ । गाउँका गरिब किसान, दलित, जनजाति तथा सीमान्तकृत वर्गको चाहना, अपेक्षा र आवश्यकताबारे पनि उहाँले निकै चासो राख्ने गरेको निकटस्थ नेताहरुको दाबी छ । 

प्रचण्ड आज गोरखाको आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएको छ । दुई विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन उहाँ राजधानीबाट सबेरै गोरखा पुग्नुभएको हो । सो क्रममा उहाँलाई गोरखा नगरपालिका–८, आमडाँडाका स्थानीयले स्वागत गरेका थिए ।

स्थानीय माओवादी नेताहरुका अनुसार आज गोरखाका मुस्लिम र जनजाति समुदायका चार दर्जन सदस्य माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुले भनेका छन्, ‘अब देशको अग्रगामी शक्ति नै माओवादी हो ।’ जवाफमा प्रचण्डले भन्नुभयो, ‘तपार्इंहरुको साथ रह्यो भने पक्कै पनि देशले एउटा गति लिनेछ ।’

टिप्पणीहरू