पार्टी प्रवेश गराउँदै प्रचण्डद्वारा क्रान्ति गर्ने प्रतिवद्धता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचनमा ठूलो क्रान्ति आउने बताउनुभएको छ । आज चितवनमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतामा माओवादीप्रति निकै रुची बढिरहेको र यसले मुलुकमा नयाँ परिवर्तन ल्याउने संकेत गरेकाे बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले सरकारमा हुँदा आफूले थालेको सुशासन, सामाजिक न्याय र भष्टाचारविरुद्धको अभियानलाई जनताले मन पराएको पनि बताउनुभयो । ‘म पछिल्लो पटक प्रधानमन्त्री हुँदा सशक्त ढंगले सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको अभियान चलाएको थिएँ’, उहाँले भन्नुभयो, ‘देशलाई जे जति राम्रा काम गर्न खोजेको थिए, त्यसलाई जनताले नजिकबाट हेरिरहेको रहेछन् भन्ने पाएँ ।’
जनताले माओवादीलाई साथ दिए मुलुकमा राजनीतिक स्थिरताको थालनी हुने प्रचण्डको दावी छ । ‘अहिलेसम्म जुन ढंगले सरकारहरु परिवर्तन हुँदै आएका छन् । बनाउने, ढाल्ने, फेरि बनाउने, ढाल्ने, त्यो पनि यति छिटो कि..त्यसैले माओवादी नै त्यो पार्टी हो, जसले मुलुकमा राजनीतिक स्थिरताको वातावरण बनाउन सक्छ’, उहाँले थप्नुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले विभिन्न पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्नुभएको छ । माओवादीमा मिसिनेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोतीलगायत छन् ।
त्यस्तै, भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
हिजो पनि आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएका प्रचण्डले गोरखा नगरपालिकाका झण्डै तीन दर्जन मुस्लिम सामुदायका अगुवाहरुलाई माओवादीमा स्वागत गर्नुभएको थियो ।
टिप्पणीहरू