‘हर्केको गाग्रीले ओलीको निद हराम’ भन्दै फेसबुकमा व्यस्त धराने मेयर

‘हर्केको गाग्रीले ओलीको निद हराम’ भन्दै फेसबुकमा व्यस्त धराने मेयर

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सोमबार अपरान्ह थोत्रो रित्तो गाग्री बोकेर काठमाडौँ आए । धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारलाई दबाब दिन सांकेतिक विरोधस्वरूप रित्तो गाग्री बोकेर सिंहदरबार छिर्न खोज्दा प्रहरीले खोसिदियो ।

त्यसपछि गाग्री बाहिरै छोडेर भित्र पसेका हर्क खानेपानी मन्त्रालय पुगे । झण्डै ढेड घण्टा कुरेर मन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेका उनले काठमाडौँ आउनुको उद्धेश्य सुनाए । मन्त्रालय बाहिर भेला भएका युटुबरलाई भेटवार्ताबारे जानकारी दिँदै खानेपानी आयोजनाका लागि बजेट सुनिश्चितता गर्ने मन्त्रीले प्रतिबद्धता जनाएको बताए ।

मेयर हर्कको चाहना थियो, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने । तर, समय पाएनन् । प्रधानमन्त्रीको सचिवालयले ‘पूर्व निर्धारित कार्यक्रममा प्रधानमन्त्री व्यस्त रहेको’ भनेपछि उनी त्यसै फर्किए । 

बुझिएअनुसार हर्क आज धरान फर्किंदैछन् । जहाजबाट विराटनगर जाने र त्यहाँबाट गाडीमा धरान पुग्ने कार्यक्रम छ । क्षण–क्षणमा फेसबुकमार्फत् आफ्नो गतिविधिको अपडेट गर्ने उनले काठमाडौं एयरपोर्टबाटै भनेका छन्, ‘धरानमा घाम लागिरहेको छ, तर विराटनगरको मौसम नखुलेकोले पर्खाइमा छु ।’ 

युटुबरलाई मसला  

मेयर हर्क अस्ति काठमाडौँ आउँदा एक हुल युटुबर एयरपोर्ट पुगेका थिए । हातमा थोत्रो रित्तो गाग्री बोकेर लुरुलुरु एयरपोर्टबाट निस्किएका उनी युटुबरका लागि राम्रो कन्टेन बने । हिजो दिनभर पनि हर्कको पिछा नछोडेका युटुबरलाई घण्टा–घण्टामा प्रतिक्रिया दिएर ‘मिडिया अटेन्सन’ पाए ।

उनी ‘स्टन्ट’ देखाउनकै लागि काठमाडौँ आएको टिप्पणी भइरहेको छ । सामाजिक सञ्जालमा व्यस्त रहने हर्कका गतिविधिले यस्ता टिप्पणीलाई बल पुर्याएको देखिन्छ । पछिल्लो २० घण्टामा उनले ३१ भन्दा बढी फोटो, भिडियो तथा स्टाटस पोस्ट गरेका छन् । 

रोचक के छ भने, उनी आफू अनुकूलका सामाग्री सेयर गर्दै आत्मरतिमा रमाइरहेका छन् । उनले सेयर गरेको एउटा भिडियोको शीर्षक छ, ‘सिंहदरबार हल्लियो थोत्रो गाग्रीले’ । अर्को छ, ‘प्रधानमन्त्री ओलीले हर्कलाई फेस गर्न सकेनन्’ । ‘हर्केको गाग्रीले ओलीको निद हराम’, ‘बेइन्जती सरकार भन्दै बाघझैँ गर्जिए हर्क’ जस्ता क्याप्सन राखिएका भिडियो सेयर गर्दै हर्क रमाएको देखिन्छ । 

झन् अराजक

संघीय प्रणालीमा स्थानीय तह आफैँमा एउटा सरकार हो । संविधानले नै स्थानीय सरकारका निश्चित अधिकार तोकिदिएको छ । सरकार प्रमुखको हैसियतमा स्थानीय जनप्रतिनिधिले गर्ने कामप्रति आमनागरिकमा चासो रहन्छ । प्रदेश र संघीय सरकारसँग समन्वय तथा सहजीकरणका लागि पनि उनीहरुले संविधानअनुकूल कदम चाल्नुपर्ने हुन्छ ।

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा पनि यसअघि खानेपानीको समस्या लिएर काठमाडौँ आएका थिए । उनले विधिवत ढंगले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए । प्रचण्डले तत्कालीन खानेपानीमन्त्री महेन्द्र राय यादव र अर्थमन्त्री प्रकाशशरण महतलाई योजना तयार पार्न र बजेट सुनिश्चित गर्न निर्देशनसमेत दिए । 

तर, मेयर हर्क भने आफ्नै तजबिजमा चलिरहेका छन् । सरकार प्रमुखको जिम्मेवारीमा बसेर थोत्रो रित्तो गाग्री देखाउँदै हिँड्नु अशोभनीय हर्कत हो । धरान–८ का स्थानीय प्रमोद न्यौपाने भन्छन्, ‘सरकारी बजेट माग्दा एउटा विधि हुन्छ, एउटा प्रक्रिया हुन्छ । तर, उहाँले केटाकेटीजस्तो व्यवहार देखाउनुभयो । थोत्रो गाग्री देखाएर सरकारलाई तर्साउछु, धम्काउछु भन्ने सोच्नु उहाँको कमजोरी हो । सुध्रिनुपर्छ, उहाँ ।’

अनिता भेटवालले पनि हर्कलाई कानुनभन्दा माथि कोही नहुने भन्दै सचेत गराएकी छन् । सिंहदरबारको गेटमा गाग्री खोसिएको प्रसंगमा उनको तर्क छ, ‘ठिकै गरेछन् प्रहरीले । मेयरजस्तो मान्छे भएर कस्तो खेलाचीँ गरेको । रित्तो गाग्री बजाएर सिंहदरबारमा झाँक्री बस्न गएको भए त बेग्लै कुरा, नत्र यो तरिका भएन मेयर साप । हरेक काम गर्ने तरिका कानुनसम्मत हुनुपर्छ ।’

लक्ष्मी रुम्बाले भने अलि फरक मत राखेकी छन् । उनले मेयर राईलाई फेसबुक छाड्न सुझाएकी छन् । भनेकी छन्, ‘मेयर साप, सबैभन्दा पहिले यो फेसबुक चलाउन छाड्नुस् । युटुबरलाई पछ्याउन छाड्नुस् । जहाँ पनि जहिले पनि मै हुँ भन्ने घमण्ड छाड्नुस् । मिडियाको अटेन्सन सिकर नबन्नुस् । बरु, ढुंगा र पाइप बोक्न चाहिँ नछोड्नुस् । त्यो ठिक छ ।’

टिप्पणीहरू