भीम रावलले खुलाए एमाले ‘बामाले’ बन्नुको कारण
एमालेबाट निकालिएका डा. भीमबहादुर रावल यतिबेला ‘मातृभूमि जागरण अभियान’ चलाइरहेका छन् । सौराहा महाधिवेशनमा अध्यक्षमा उममेदवारी दिएदेखि नै अध्यक्ष केपी शर्मा ओलीको निशानामा परेका उनलाई एमालेको पुस १० गते बसेको सचिवालय बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । त्यसको केही दिनपछि पत्रकार सम्मेलन गरेका उनले छ महिनाभित्रै नयाँ पार्टी खोल्ने घोषणा गरिसकेका छन् ।
अहिले आन्तरिक गृहकार्यमा रहेका उनी गृहप्रदेश सुदूरपश्चिममा व्यस्त छन् । त्यसअघि कोशी प्रदेशका केही जिल्लामा उनले विभिन्न पार्टीका नेता–कार्यकर्तालाई भेटेका थिए । एमालेमा रहँदाभन्दा अहिले बढी व्यस्त रावललाई जनआस्थाले केही प्रश्न गरेको छ :
एमालेमा रहँदा र बाहिरिएपछिको दिनचर्यामा कस्तो परिवर्तन आएको छ ?
धेरै परिवर्तन आएको छ । पहिलेभन्दा अहिले ज्यादा भेटघाट गरिरहेको छु । देशभरबाट साथीभाई र शुभचिन्तकहरुको फोन आइरहेको छ । कहिलेकाहीँ त फोन उठाउने कि भौतिक रुपमै भेट्न आएका साथीहरुसँग बोल्ने, फसाद पर्छ । जे भए पनि, अहिले म आफ्नै मातृभूमि जागरण अभियानको लागि व्यस्त भइरहेको छु ।
‘मातृभूमि जागरण अभियान’ घोषणा गरेको केहि दिनमै पूर्व जानुभयो, कति जिल्ला घुम्नुभयो ?
त्यति धेरै त घुम्न पाइएन । काठमाडौँबाट विराटनगर गएको थिएँ । त्यहाँ विभिन्न नेताहरुसँग भेटघाट भयो । सकारात्मक छलफल भएको छ । त्यसपछि सुनसरी गएँ । त्यहाँ पनि मलाई साथीहरुले राम्रो साथ दिनुभयो । एक किसिमले लहर नै देखेँ मेरो पक्षमा । यसले मलाई राष्ट्रहित र स्वाधिनताको पक्षमा काम गर्ने ऊर्जा मिलेको छ ।
केही लोकप्रिय अनुहार र स्वतन्त्र जनप्रतिनिधिसँग पनि सहकार्यको लागि संवाद अघि बढाउनुभएको हो ?
मैले कुनै वर्ग विशेष छुट्याएर संवाद गरेको छैन । देश र जनताप्रति समर्पित रहेका र देशभक्त भावना भएका जो कोहीसँग पनि म सहकार्य गर्न तयार छु ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँग पनि छलफल भइरहेको छ भन्ने सुनियो, साँचो हो ?
मैले आफैँ त कुरा गरेको छैन । देश बनाउनुपर्छ भनेर लागेका साथीहरुलाई पनि अभियानमा जोडौँ भन्ने उद्देश्यचाहिँ छ । अभियानका साथीहरुले कुरा गरिरहनुभएको छ भन्ने मेरो जानकारीमा पनि आएको छ । तर, मैले नै संवाद गरेको चाहिँ छैन ।
अनि धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङसँगको कुरा के हो नि ?
उहाँ पनि स्वतन्त्र जनप्रतिनिधि हो । राम्रो काम गरिरहनुभएको छ । मुलुकको हितमा काम गर्ने हर्कमात्रै होइन, सबैलाई समेट्ने हाम्रो प्रयास हो ।
अहिले सुदूरपश्चिममा हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
यहाँ त मलाई साथ दिन जनताको लहर नै देखिएको छ । एमालेमै रहनुभएका साथीहरु पनि क्रमशः हाम्रो अभियानमा जोडिरहनुभएको छ । तपाईंले थाहा पाइसक्नुभएको होला, अस्ति मात्रै एक हजार ८६ जनाले एमालेबाट सामूहिक राजीनामा दिएर हाम्रो अभियानमा जोडिनुभएको छ । अरु कतिपय साथीहरु पनि अभियानमा जोडिन संवाद गरिरहनुभएको छ । यताको माहोला राम्रो र ऊर्जामय छ ।
अभियान चलाउन वा पार्टी खोल्दा आर्थिक पक्ष पनि जोडिन्छ, त्यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हामी अहिले अभियानको प्रारम्भिक चरणमा छौँ । देश तथा विदेशमा रहनुभएका साथीहरु विस्तारै जोडिरहनुभएको छ । कतिपय साथीहरुले स्वेच्छाले आर्थिक सहयोग पनि गरिरहनुभएको छ । कतिपयले हामी गर्छौं भनेर प्रेम देखाउनुभएको छ ।
अभियानलाई प्रभावकारी बनाउन अहिले सानो आकारमा सचिवालय बनाएका छौँ । सचिवालयमा रहनुभएका साथीहरुको माध्यबाट विदेशमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुले सक्दो सहयोग गरिरहनुभएको छ । यसरी जम्मा भएको रकम हामीले पारदर्शी ढंगले खर्च गर्छौं ।
कार्की बैंक्वेटको पत्रकार सम्मेलनमा छ महिना अभियान चलाउने र त्यसपछि पार्टीमा रुपान्तरण गर्ने बताउनुभएको थियो, तपाईंको पार्टी कस्तो विचारधाराको हुन्छ ?
त्यो अहिले नै यस्तो हुन्छ भनेर तय भइसकेको छैन । सकेसम्म देशभक्त पार्टी हुनेछ । अहिले हामी सुरुवाती चरणमा रहेको कारण विचार विमर्श गर्न अझै बाँकी नै छ । फरक–फरक क्षेत्रका व्यक्तिहरुसँग छलफल भइरहेको छ । मुलुकमा आजको आवश्यकता के हो ? त्यो कुरालाई सम्बोधन गर्नेगरी पार्टी बन्छ ।
अन्त्यमा, तपाईंको पूर्व पार्टी एमालेले अरु नेताहरुलाई पनि कारबाही गरिरहेको छ, यसबारे यहाँको टिप्पणी के छ ?
म एमालेबाट अलग भएपछि त्यहाँ के–के हुन्छ, त्यो मेरो चासोको विषय होइन । यद्यपि, सूचना सञ्चारको जमाना छ, समाचार पढेर प्रदेशस्तरका नेतालाई कारवाही गरिएको जानकारी पाएँ । तर, यो मेरो लागि कुनै नौलो कुरा हैन । केपी ओलीको तानाशाही प्रवृतिबारे मलाई मात्रै होइन, अहिले त्यही पार्टीमा रहनुभएका धेरै साथीहरुलाई राम्ररी थाहा छ । वास्तवमा उनीहरुको मौनताले नै एमालेलाई ‘बामाले’ बनाएको हो ।
टिप्पणीहरू