प्रचण्डका लागि शहीद परिवार एकाएक प्यारो
सरकारमा रहँदा शहीद तथा वेपत्ता परिवारप्रति वास्ता नगरेको आरोप लागेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उनीहरुप्रति एकाएक माया पलाएको छ । पार्टी कामको सिलसिलामा विभिन्न जिल्लामा पुगिरहनु भएका उहाँले शहीद परिवारका सदस्यसँगको भेटघाटलाई विशेष महत्व दिनुभएको हो ।
लुम्बिनी प्रदेशका विभिन्न कार्यक्रममा व्यस्त रहनुभएका अध्यक्ष प्रचण्डले जनयुद्धका शहीद परिवारलाई घरमै पुगेर भेट्नुका साथै सँगै खाना खानुभएको छ । हिजो बाँकेको खजुरास्थित शहीद डम्बर रानाभाटको घरमा जानुभएका उहाँ आज दाङको तुलसीपुर-८ बटोलपुरस्थित शहीदको घर पुग्नुभयो ।
सो क्रममा अध्यक्ष प्रचण्डसहित माओवादी नेताहरुले शहीद परिवारका सदस्य भगवती चौधरीले तयार पारेको थारु परिकारसहितको खाना खानुभएको थियो । जनयुद्धमा चौधरी परिवारका छ जनाले ज्यान गुमाएका थिए । प्रचण्डले हिजो पनि शहीद परिवारसँगै बसेर दिउँसोको खाना खानुभएको थियो ।
सरकारबाट बाहिरिएपछि संगठन निर्माणमा जुट्नुभएका प्रचण्ड देश दौडाहामा हुनुहुन्छ । पूर्वको मोरङबाट गोर्खा, चितवन हुँदै केही दिनअघि काठमाडौँ फर्किनुभएका उहाँ लगत्तै पश्चिम जानुभएको हो । आज बिहान दाङ पुग्नुभएका उहाँ भोलि पनि त्यतै रहने बताइएको छ ।
टिप्पणीहरू