रास्वपा सांसद को को सङ्ग आगो ?
प्रतिनिधि सभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा सदस्य विनिता कठायतले उठाएको विषयले हल्लीखल्ली मच्चाएको छ । उनले आफूमाथि सांसदहरुबाटै ‘ह्यारेसमेण्ट’ भएको गम्भीर आरोप लगाएकी छन् । उनलाई ‘ह्यारेस’ गर्ने ती सांसद को हुन् ? चर्चाको विषय बनेको छ ।
गत पुस १९ गते समितिको सभापतिसहित आठ सदस्य अनुगमनका लागि काठमाडौंबाट हिँडे । उनीहरु लुम्बिनी र गण्डकीको विभिन्न स्थानमा जाने तय भएको थियो । विश्व वन्यजन्तु कोष ‘डब्ल्युडब्ल्युएफ’ को सहकार्यमा गएको टोली पोखरामा हुँदा ‘होटल ल्याण्डमार्क’ मा बस्यो । उनीहरुको आउने–जाने, बस्ने–खानेलगायत सम्पूर्ण खर्च सोही संस्थाले व्यहोरेको थियो ।
पुस २८ गते टोली होटलनजिकैको रेष्टुरेण्टमा ‘दारु’ पार्टी गर्न बस्यो। सभापति कुसुमदेवी थापा,नेकपा एमाले सांसद सरस्वती सुब्बा र नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले मदिरापान गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद अनिशा नेपाली सो घटना हुँदा त्यहाँ नभएको स्रोतको भनाइ छ ।
सांसद कठायत र नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरी छेउमा हट–लेमन पिएर बसेका थिए । यत्तिकैमा एक सदस्यले रास्वपाको प्रसंग निकाले । त्यसमा सांसद सुब्बाले ‘ठग पार्टीको के कुरा गर्नु ?’ भन्दै उग्र प्रतिक्रिया दिइन् । विदेशीसँग विवाह गर्ने, विदेशीलाई मन्त्रीको क्वार्टरमा राख्ने, मुलुकको सूचना बाहिर पठाउनेसँग के नैतिकता हुन्छ ? लगायतको आक्षेप लगाएपछि चर्काचर्की परेको स्रोतको भनाइ छ ।
सांसद कठायतले सोही विषय समितिको बैठकमा निकालेकी हुन् । अस्ति बुधबार बसेको बैठकमा उनी र सभापति थापाबीच भनाभन नै भएको थियो । सभापति थापाले पटकपटक रोक्न खोजेपनि उनी झन् आवेगमा आएर बोलिरहेकी थिइन् । अन्य सदस्य भने सभापति–सदस्यबीचको भिडन्त ‘ट्वाँ’ परेर हेरिरहेका थिए । उनले ‘पोखरेली साँझ’ को कुरा निकाल्दा चर्को विवाद नै भयो ।
रास्वपा सांसद सुमना श्रेष्ठ र सोबिता गौतममाथि आक्षेप लगाएको भन्दै उनले आपत्ति पनि जनाइन् । ‘सुमना श्रेष्ठले कति जनासँग बिहे गर्यो भन्ने तपाईंहरुको सरोकारको कुरा हो ? सोबिता गौतमले के बोल्यो भनेर तपाईंहरुको सरोकारको कुरा हो ? राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने तपाईंहरुको सरोकारको विषय हो ?’,उनले असन्तुष्टि पोखिन् ।
त्यसैगरी, उनले आफ्नो पार्टीको विषयमा अनावश्यक कुरा नगर्न खबरदारी पनि गराएकी थिइन् । भनिन्,‘यो समितिमा भएको कुरा हो ? समितिको अनुगमनमा भएको कुरा हो ? तपाईंले मलाई पेल्न खोज्ने ? त्यहाँनेर रक्सी खाएर तपाईंहरुले जे पायो त्यही बोल्न मिल्छ ? सुमनाले कति जनासँग बिहे गर्यो,तपाईंहरुको सरोकारको कुरा हो ? तपाईंहरुले निर्णय गर्नुहुन्छ ? उहाँहरुलाई देश निकाला गर्ने भनेर ? के गरेको छ त्यस्तो देश निकाला गर्नलाई ? तपाईंहरुले बोलेको एकएक कुरा छ यहाँनेर सभापतिज्यू ?’
एनजिओले सित्तैमा दिएको रक्सीले ‘दारु’ पार्टी गरेको सांसद कठायतको आरोप छ । सांसद सुब्बाले आफूमाथि बढी नै घोचपेच गरेको उनले बताइन् । यता, सांसद बलायरले भने कोपमा जान नपाएकाले उनले आरोप लगाएको दाबी गरेका छन् । उनले झुठ्ठो आरोप लगाएर ‘स्टण्टबाजी’ गरेको बलायर बताउँछन् । आफूहरुले कठायतलाई कुनै नराम्रो व्यवहार नगरेको उनको जिकिर छ । पोखरामा हुँदा पनि उनी छुट्टै बसेको बलायरले जनआस्थासँग बताए । भन्छन्,‘यसअघि उहाँ कोपमा जानुभएको थियो । यसपालि जान पाउनुभएन । त्यही भएर उग्र बन्नुभएको हो । सो दिन त्यस्तो कुनै घटना भएको थिएन । उहाँले नियोजित रुपमा सो किसिमको आरोप लगाउनुभएको हो’,उनले भने ।
उनका अनुसार त्यतिबेला काँग्रेस महामन्त्री गगन थापाको कुरा निस्किएको थियो । सूचना बेच्ने भनेपछि मन्त्री क्वार्टरमा विदेशी बसेको प्रसंग आएको उनी बताउँछन् । भन्छन्,‘उहाँले भन्नुभएको जस्तो रवि लामिछाने, स्वर्णिम वाग्ले, सोबिता गौतमको कुरै भएको छैन्र । हाम्रो महामन्त्रीको कुरा गर्नुभएपछि हामीले विदेशी पनि क्वार्टरमा बस्यो होला । गोप्य फाइल लग्यो होला भनेका हौं ।’ त्यसैगरी समिति एनजिओको रकममा अनुगमनमा नगएको उनको ठोकुवा छ । कार्यक्रमको आयोजना समितिले नै गरेको बलायरको जिकिर छ । समितिमा एनजिओ पूर्णतः बन्देज रहेको पनि उनले जनआस्थासँग बताए । यता, सांसद सुब्बासँग यसविषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन् ।
टिप्पणीहरू